
धरान उपमहानगरपालिकाले निर्माण सम्पन्न गरिसकेको आधुनिक बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निजी जग्गा स्वामित्व, क्षतिपूर्ति विवाद र विगतमा अपनाइएको कानुनी प्रक्रियाका कारण बसपार्क सञ्चालन ‘गाँठो’मा परेको हो । मंगलबार बसेको नगरसभाको बैठकमा का मेयर हर्क साम्पाङ राईले बसपार्क सञ्चालनमा देखिएका समस्यालाई मुख्य एजेन्डा बनाउँदै विगतको प्रक्रिया नै त्रुटिपूर्ण भएको स्वीकार गरे ।
व्यक्तिको सहमति बिना निजी जग्गा नगरपालिकाको नाममा ल्याइनु राज्यको दायित्व विपरीत भएको उनको भनाइ थियो । “राज्यको दायित्व व्यक्तिको सम्पत्ति र जिऊधनको रक्षा गर्नु हो,” मेयर राईले भने, “तर विगतमा व्यक्तिको मञ्जुरी बिना क्याबिनेटसम्म लगेर जग्गाको धनीपूर्जा नलेन्ड एन्ड भोइड बनाइयो । अब यो गल्ती स्वीकारेर समाधानतर्फ जानुपर्छ ।” समस्या समाधानका लागि धरान–८ का वडाध्यक्ष धनबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय संवाद तथा प्रतिवेदन तयारी समिति गठन गर्ने निर्णय नगरसभाले गरेको छ ।
समितिमा धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बु, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, प्रशासन महाशाखाका एक सदस्य र प्राविधिक शाखाका योजना प्रमुख सुरज श्रेष्ठ सदस्य रहेका छन् । समितिले पीडित जग्गाधनीसँग संवाद गरी समाधानको बाटो खोज्नेछ । मेयर राईका अनुसार नगरपालिकाको आयोजनामा रहेका केही सेल्स प्लटमा खाली जग्गा रहेको छ । तीमध्ये ९–१० धुर जग्गा व्यवस्थापन गरेर पीडितलाई चित्त बुझाउन सकिने प्रस्ताव अघि सारिएको छ ।
“३०–३५ धुर जग्गा दान दिने व्यक्तिलाई ५–८ धुर मात्र काटेर दिइयो, त्यो पनि उनले पाएका छैनन् । यत्रो ठूलो गाँठो फुकाउनै पर्छ,” उनले भने । यद्यपि कार्यपालिका सदस्य सृजना नेपालले बसपार्कको डीपीआरमै सेल्स प्लटको उल्लेख नरहेको र बसपार्क निर्माण अझै पूर्ण रूपमा सम्पन्न भइनसकेको जिकिर गरिन् । धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बुले पनि विगतमा भएका सहमति र समितिहरूसँग छलफल गरेर मात्रै निर्णय अघि बढाउनुपर्ने धारणा राखे ।
धरानमा आधुनिक बसपार्कको अवधारणा २०५६ सालपछि सुरु भएको हो । ०६७ सालदेखि पुरानो बसपार्क साँघुरो भएपछि धरान–८ सुन्दरबस्तीमा स्थानान्तरणको योजना अघि बढाइँदा करिब ३८ कट्टा निजी जग्गा उपमहानगरपालिकाको स्वामित्वमा ल्याइएपछि विवाद सुरु भएको थियो । ०७६ माघ २७ गते तत्कालीन कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदीले बसपार्कको शिलान्यास गरेकै दिन स्थानीय जग्गाधनीले विरोध जनाएका थिए । स्थानीयको चित्त नबुझाई अघि बढाइएको प्रक्रियाकै कारण निर्माण सम्पन्न भइसकेको आधुनिक बसपार्क आजसम्म सञ्चालनमा आउन नसकेको निष्कर्ष नगरसभामा निकालिएको छ ।