
जेन्जी नेता मिराज ढुंगाना नेतृत्वको आन्दोलनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएका कारण प्रहरीले नियन्त्रणको तयारी गरेको छ । मिराज ढुङ्गानाको नेतृत्वमा रहेको यो समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार १०० दिनमै असफल भएको दाबी गर्दै बिहान ११ बजेदेखि आन्दोलन गर्ने तयारी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको हो।
प्रशासनसँग अनुमति नलिएका कारण माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार जेनजी समूहले काठमाडौंमा प्रदर्शन गर्ने कुनै पनि सहमति नलिएकाले त्यही अनुसार सुरक्षा निकाय परिचालित हुने बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक ( एसपी ) पवन कुमार भट्टराईले पनि प्रशासनसँग अनुमति नलिई प्रदर्शन गरेको पाइएमा त्यही अनुसार प्रहरीले बल प्रयोग गर्ने बताए । उनले भने,‘शान्तिपूर्ण भनिए पनि प्रशासनसँग अनुमति नलिइ काठमाडौंमा प्रदर्शन गर्न पाइँदैन ।’
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ढुंगानासहितको जेनजी समूहले सोमबारदेखि काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेको छ । उनीहरूले माइतीघर मण्डलमै प्रदर्शन गर्ने भनेका छन् ।