
सुनाखरी न्युज/ काठमाडौं ।
यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १० सडको काम गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको अदालत चौपारी–सिगाना र क्षेत्र नम्बर २ को हरिचौर–पाण्डवखानी सडक कालोपत्र गरिनेछ । अन्य आठ वडा सहायक सडकको स्तरोन्नति गर्ने तयारी गरेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । दुई निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि रु छ लाख विनियोजन भएको उहाँको भनाइ छ । सात किलोमिटर रहेको अदालत चौपारी–सिगाना सडक कालोपत्र भइसकेको भन्दै भुक्तानी गर्न बाँकी रहेको प्रमुख सुवेदीले बताउनुभयो । हरिचौर–पाण्डखानी सडकको भने आठ किलोमिटर ढलान र कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार निसीखोला र ढोरपाटन नगरपालिका जोडेको पाखुते–झिम्पा रु एक करोड ५८ लाखमा स्तारोन्नति गर्नका लागि ठेक्का प्रक्रियामा गरेको छ । काठेखोला गाउँपालिकामा पर्ने अक्षेते–मूल्यना सडक रु दुई करोड ११ लाखमा स्तरोन्नति हुँदै छ । बडिगाड गाउँपालिकाको रणसिंहकिटेनी–रमुवा सडक रु एक करोड ३२ लाख बजेटमा स्तरोन्नति गरिने प्रमुख सुवेदी बताउनुहुन्छ । जैमिनी नगरपालिका स्थित दरौदी–सुन्तलाचौरका रु दुई करोड ४३ लाख, बागलुङ नगरपालिकाको डाँडाथर–स्यालेपाखा सडक रु दुई करोड करोड १७ लाख, काठेखोला गाउँपालिकाको मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडक रु दुई करोड ४४ लाख र रातामाटा सडक रु दुई करोड २५ लाखमा स्तरोन्नति गर्न थालिएको उहाँले जानकारी दिनुभयो । यि सबै सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा गइसकेको भन्दै केही दिनमै काम सुरु हुने प्रमुख सुवेदी बताउनुहुन्छ ।
“यस वर्ष विनियोजन भएर आएको रकम पनि केही कटौती भएका छ, योजनाहरू घटेका छैनन्, पर्याप्त बजेट नभए पनि काम अगाडि बढ्छन्, सबै सडकको ठेक्का सम्झौता भएर अगाडि बढ्ने प्रक्रियामा छन्,” उहाँले भन्नुभयो, “आगामी असार मसान्तसम्म सम्झौता भएका सडकको काम सम्पन्न हुनेछ, चिसो बढेको हुँदा कालोपत्र गर्नेबाहेक स्तरोन्नतिको काम हुने छ ।” काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडकको ट्राक खुलेको वर्षौँ भइसक्दाप नि स्तरोन्नति नहुँद स्थानीयले सास्ती खेप्नुपरेको बताउनुभयो । गाउँपालिकाको सीमित स्रोत सडक स्तरोन्नति गर्न नसकिएको भन्दै सङ्घीय सरकारको बजेटले यस वर्ष काम हुन थालेको उहाँले सुनाउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “त्यो सडक निकै जोखिम छ, सडकको बीचमा ठूलो भिर छ, यात्रा निकै जोखिमपूर्ण हुँदै आएको छ, धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो, यसवर्ष सङ्घीय सरकारबाट बजेट परेको हुँदा अप्ठ्यारो ठाउँमा सडकलाई सहज बनाइने छ, यही सडक हुँदै पर्यटकीय क्षेत्र बेलढुङ्गा जोडिने हुँदा स्तरोन्नति पछि पर्यटकलाई पनि समस्या हुने छैन ।”
रासस