२०८२ फाल्गुन २३ , शनिवार

सप्तरीमा राजविराज करदाता सेवा कार्यालय हटाएको विरोधमा अनसन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले राजविराजस्थित करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेपछि सप्तरीमा आन्दोलन चर्किएको छ । आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने माग राख्दै जिल्लाका स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी र राजनीतिक दलका नेताहरू रिले अनसन बसेका छन् । राजविराजस्थित गजेन्द्रचोकमा शुक्रबारदेखि जनप्रतिनिधिहरू रिले अनसन बसिरहेका छन् । सरकारले आफ्ना माग पूरा नगरे पूर्वपश्चिम राजमार्ग नै ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् । आन्दोलनमा सहभागी जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले करिब ७२ हजार करदाता रहेको सप्तरी जिल्लामा करदाता सेवा कार्यालय मात्र नभई पूर्ण क्षमताको आन्तरिक राजस्व कार्यालय नै आवश्यक रहेको बताए ।

अनसनस्थलबाटै आक्रोश पोख्दै जिसस प्रमुख साहले भने, ‘सरकारले हाम्रो कुरा सुनेन भने यो सात दिने रिले अनसनपछि हामी कठोर कदम चाल्न बाध्य हुनेछौँ । रुपनी हाइवेमा टेन्ट टाँगेर मेची-महाकाली यातायात ठप्प पार्छौं । ४० हजार करदाता भएका ठाउँमा कार्यालय हुने, तर ७२ हजार भएको सप्तरीलाई हेप्ने कुरा हामीलाई मान्य छैन ।’ उनले रिले अनसन बसेको तीन दिन भइसकेको र सात दिनमा पूरा नभए आमरण अनसन बस्ने बताए । आन्दोलनकारीले यसअघि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की मार्फत प्रधानमन्त्रीलाई पाँच हजार जनाको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका थिए । तर सुनुवाइ नभएको भन्दै अहिले जनप्रतिनिधि नै निर्णायक आन्दोलनमा होमिएका हुन् ।