
सुनाखरी न्युज/ काठमाडौं ।
निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका दलको संख्या १४३ छ । यसमध्ये ११७ वटा दलले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । ती निवेदन उपर आयोग अध्ययनमै छ । बाँकी २६ दलले भने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छैनन् । दल दर्ताको निवेदन नदिने दलहरूमा माओवादी नाम राखेका दुई पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । माओवादी कम्युनिस्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) ले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छैनन् ।