२०८२ फाल्गुन २३ , शनिवार

विश्व बक्सिङ काउन्सिल सम्मेलनमा प्रतिनिधित्व गर्दै ‘एनपिबिसी’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व बक्सिङ काउन्सिल (डब्लुबिसी) सम्मेलनमा नेपाल प्रोफेशनल बक्सिङ कमिशन (एनपिबिसी) ले पहिलोपटक सहभागिता जनाउने भएको छ । सम्मेलनमा कमिशनका अध्यक्ष राजन विक्रम प्रजापतिको नेतृत्वमा नेपाल बक्सिङका राष्ट्रिय रेफ्री दिपेश शर्मासहित दुई जनाको सहभागिता हुनेछ । आगामी नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म थाइल्यान्डको बैंककमा हुने ६३औँ सम्मेलनमा नेपाल पहिलोपटक औपचारिक उपस्थिति जनाउन लागेको अध्यक्ष प्रजापतिले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “सम्मेलनमा अन्तरराष्ट्रिय बक्सिङका नयाँ नीति, खेलाडी सुरक्षा मापदण्ड अद्यावधिक, प्रशिक्षण तथा स्वास्थ्य प्रणाली सुधार्नेजस्ता महत्त्वपूर्ण विषयमा बृहत्त् संवाद तथा कुराकानी हुनेछ, जसमा करिब १५० भन्दा बढी नै देशको सहभागिता रहनेछ ।” बक्सिङका राष्ट्रिय रेफ्री शर्माले सम्मेलनमा सहभागितापछि थप ऊर्जासहित अगाडि बढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा पछिल्लो समय बक्सिङतर्फ आकर्षण बढ्दो छ । त्यसैले सम्मेलनबाट फर्किपछि सशक्त रूपले लाग्ने र खेलाडीलाई थप उत्साहित बनाउन ऊर्जा मिल्ने विश्वास छ”, उहाँले भन्नुभयो, “अफिसियल समूहमा रेफ्रीका रूपमा सहभागी हुनु नेपाल र विशेषगरी नवलपरासीका लागि गौरवको कुरा हो ।”
रासस