
सुनाखरी न्युज / काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए । तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । उनको निर्णय आजदेखि लागु भएको हो । स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरिएको थियो । सरकारले तत्कालीन समयमा शुल्क बढाउने निर्णय गरे पनि चौतर्फी विवादका कारण कार्यान्वयनमा आउन सकेको थिएन । यतिबेला विभागीय मन्त्रीसमेत नभएको अवस्थामा स्वास्थ्य व्यवसायीले उक्त बढेको शुल्क आजदेखि कार्यान्वयनमा ल्याएका हुन् । सबै स्वास्थ्य संस्था प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर गरिरहेको महासंघले जनाएको छ ।