२०८२ फाल्गुन २३ , शनिवार

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

MIDEAST-GAZA-JABALIA-ISRAELI ATTACK-DESTROYED HOUSE

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । सङ्गठनका उच्चाधिकारीहरूले यस अभियानले गाजाको गम्भीर रूपमा कमजोर बनेको स्वास्थ्य प्रणालीलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन् । डब्लुएचओ र यसका साझेदार संस्थाहरूले नोभेम्बर ९ देखि सुरु गरिएको खोप अभियानको प्रारम्भिक चरणमा पहिलो आठ दिनभित्र तीन वर्षमुनिका १० हजारभन्दा बढी बालबालिकालाई खोप दिन सफल भएको जानकारी दिए । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार अभियानको पहिलो चरण शनिबारसम्म विस्तार गरिएको छ र यसमार्फत बालबालिकालाई दादुरा, गलफुलो, रुबेला, डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी, क्षयरोग, पोलियो, रोटाभाइरस तथा निमोनियाजस्ता गम्भीर रोगहरूबाट जोगाउने लक्ष्य राखिएको छ ।

अभियानको दोस्रो र तेस्रो चरण क्रमशः डिसेम्बर र जनवरी महिनामा सञ्चालन हुने तय गरिएको छ । यी अभियानलाई युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी सहायता संस्था (युएनआरडब्लुए) तथा हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अघि बढाइनेछ ।महानिर्देशक गेब्रेयससले युद्धविरामले निरन्तरता पाइरहेको देखेर आफू प्रोत्साहित भएको बताउँदै यसले डब्लुएचओ तथा साझेदारहरूलाई गाजामा आवश्यक स्वास्थ्य सेवा विस्तार गर्न तथा ध्वस्त भइसकेको स्वास्थ्य पूर्वाधारको पुनःउपकरण र पुनर्निर्माणमा सहयोग पुर्‍याउन सहज भएको उल्लेख गर्नुभयो । यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित योजनालाई समर्थन जनाउँदै मतदान गरेको थियो ।

सो योजनाले इजरायल र हमासबीच गत अक्टोबर १० मा लागू भएको युद्धविराम कायम राख्न सघाएको बताइन्छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गराइएको रक्तपातपूर्ण आक्रमणपछि सुरु भएको दुई वर्षभन्दा लामो शत्रुताले गाजालाई अत्यन्त क्षतिग्रस्त बनाएको छ । उक्त आक्रमणमा एएफपीद्वारा सङ्कलित आधिकारिक तथ्याङ्कअनुसार एक हजार २२१ जना इजरायली नागरिकको मृत्यु भएको थियो, जसमा अधिकांश सामान्य नागरिक थिए । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणको प्रतिक्रियामा हालसम्म ६९ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयले मृतकमध्ये कति लडाकू थिए भन्ने खुलाएको छैन, तर आधाभन्दा बढी मृत्यु हुनेहरू महिला र बालबालिका रहेको सङ्केत गरेको छ । संयुक्त राष्ट्रसङ्घले यी तथ्याङ्कलाई भरपर्दो मानिएको जनाएको छ ।
रासस/एएफपी