
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए । नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए । त्यसपछि आक्रोशित युवाहरू विमानस्थल पुगेर तोडफोड सुरु गरेका थिए। त्यहाँको स्थिति अहिले पनि तनावग्रस्त छ। काठमाडौंबाट आउने भनिएका नेता रोकिएका छन् ।