
सुनाखरी न्युज/ काठमाडौं ।
एक दशक अगाडिसम्म ढोरपाटन र निसीखोलामा एउटा पनि घरबास (होम–स्टे) थिएनन् । पर्यटकलाई बास बस्न व्यवस्थित होटलको अभाव थियो । घुमफिर गर्न आउने पर्यटक स्थानीयको घरमा जसोतसो रात कटाउने गर्थे । तर अहिले ठाउँ–ठाउँमा घरबास (होम–स्टे) र व्यवस्थित होटल सञ्चालनमा आएका छन् । दुई वर्षदेखि ‘दीगो पर्यटन प्रवद्र्धन परियोजना’मार्फत निसीखोला र ढोरपाटन क्षेत्रका नागरिकलाई पर्यटन साक्षरतासँगै घरबास सञ्चालनमा जोड दिइएको छ । पछिल्लो समय नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित बुकीपाटन र आसपासका उच्च पहाडी क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकषर्ण बढेसँगै घरबास तथा होटल थपिने क्रम जारी छ । प्रचारप्रसारका कारण ओझेलमा परेका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेपछि घरबास व्यवसायसमेत फस्टाउन थालेको छ । दीगो पर्यटन प्रवद्र्धन परियोजनाले दुई वर्षमा दुई पालिकाका १८ स्थानमा घरबास सञ्चालन गर्न सहयोग गरेको छ । परियोजनाका ‘टिम लिडर’ अमर थापाका अनुसार निसीखोला गाउँपालिकामा चार तथा ढोरपाटन नगरपालिकामा १२ घरबास सञ्चालन गर्न स्थानीयलाई प्रेरित गरी सहयोग गरिएको छ ।
हालसम्म अठार घरबासलाई रु दुई लाख ५० हजारका दरले रु ४५ लाखको सामग्री हस्तान्तरण गरेको थापाले बताउनुभयो । पर्यटकको आगमन बढ्न थालेपछि थप १२ घरबास सञ्चालनमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो । “ढोरपाटन र निसीखोला पर्यटकीय हिसाबले निकै सम्भावना बोकेका ठाउँ हुन्, यहाँ थुप्रै सम्भावनायुक्त ठाउँ छन् । तिनीहरुको प्रवद्र्धनका लागि हामीले ठाउँ–ठाउँमा घरबास सञ्चालन गरिरहेका छौँ, स्थानीयको सक्रियतामै घरबास सञ्चालन भएका हुन्”, थापाले भन्नुभयो, “यस क्षेत्रमा घुम्न आउने कुनै पनि पर्यटकलाई खाना र बस्नका लागि कुनै पनि समस्या हुने छैन ।” घरबासले लोपोन्मुख कला, संस्कृतिको संरक्षण गर्नुका साथै प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । त्यससँगै स्थानीय उत्पादनले बजार पाउने र गाउँका महिला तथा युवासमेतले रोजगार पाउने थापा बताउनुहुन्छ । घरबास सञ्चालकलाई पर्यटन प्रवद्र्धनसँगै पाककला र हस्पिटालिटीसम्बन्धी तालिमसमेत दिएको उहाँले बताउनुभयो । ढोरपाटन नगरपालिका–९ पाखाथरका जीवन पुनले दशक अगाडि ढोरपाटनमा कुनै पनि होटल तथा घरबास नहुँदा आगन्तुक सामान्य गोठमा बास बस्ने गरेको बताउनुभयो ।
अहिले होटलसहित घरबास सञ्चालनमा आएपछि पर्यटकको आगमनमा पनि उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ । दीगो पर्यटन प्रवद्र्धन परियोजनाले स्थानीयलाई पर्यटनसम्बन्धी सचेतना र अन्य सहयोग गर्दै आएको पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “आजभन्दा पाँच÷सात वर्ष अघि ढोरपाटनमा आउने पर्यटक गोठमा सुत्नुपर्ने बाध्यता थियो, अहिलेको जस्तो पर्यटकको चाप पनि थिएन, अहिले ढोरपाटनमा आउने कुनै पनि पर्यटकले खाना बस्न नपाएर दुःख पाउनु पर्ने अवस्था छैन, धेरै होम–स्टे खुलेका छन्, होटल पनि छन् ।”निसीखोला गाउँपालिका–६ बुढाथोकमा यसअघि कुनै पनि घरबास सञ्चालनमा थिएन । गत आइतबार मात्रै यहाँका चार घरमा घरबास सुरुआत गरिएको छ । दीगो पर्यटन प्रवद्र्धन परियोजनाले एक महिना घरबास सञ्चालनसम्बन्धी तालिम दिएपछि स्थानीय बीना बुढा मगरको समूहले चार घरमा घरबास सञ्चालनमा ल्याउनुभएको हो । अब निसीखोलामा आउन पर्यटकका लागि स्थानीय परिकार र कला संस्कृतिले आकर्षित गर्न सकिने बुढा मगरले बताउनुभयो । अब आफू प्रचारप्रसारमा लाग्ने उहाँको भनाइ छ । यस क्षेत्रमा अहिलेसम्म व्यवस्थित होटल र घरबास नहुँदा धेरै पर्यटक खाना, बस्नका लागि बुर्तिबाङ बजारमै पुग्नु बाध्यता रहेको भन्दै अब त्यो समस्याको समाधान हुने बुढा मगर बताउनुहुन्छ ।
रासस