
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी सांसदहरूले कुख्यात करोडपति यौन शिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न बाध्य पार्ने विधेयक एपस्टेन फाइल ट्रान्सपरेन्सी एक्ट अगाडि बढाउने तयारी गरेका छन् । यस कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पले आधुनिक अमेरिकाको सबैभन्दा विवादास्पद केस फाइलहरू मध्ये एक ढाकछोप राख्ने प्रयासलाई अस्वीकार गर्दै नयाँ मोड ल्याएको छ । हप्तौँसम्म चलेको प्रतिरोध, पर्दाअघि र पछाडिका दबाब तथा सामग्री सार्वजनिक नगर्न उन्मत्त लबिङका बाबजुद राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो अवरोध हटाउन बाध्य भएको सङ्केत दिनुभएको थियो । करिब १०० भन्दा बढी रिपब्लिकन सांसदहरू नै ट्रम्पको आग्रहविपरीत फाइल सार्वजनिक गर्न तयार भएपछि परिस्थितिले उहाँको पक्ष कमजोर बनाएको थियो । अब प्रतिनिधि सभाले एपस्टेन सम्बन्धी अपरेशन, उनको गतिविधि र सन् २०१९ मा हिरासतमा भएको मृत्युसम्बन्धी सरकारी कागजातहरूको अवर्गीकृत विवरण सार्वजनिक गराउने यो विधेयक पारित गर्ने लगभग निश्चित देखिएको छ ।
सांसदहरूका अनुसार एक हजारभन्दा बढी सम्भावित पीडितहरूको मुद्दामा जनतालाई सत्य बुझ्ने पूर्ण हक छ । ट्रम्प समर्थक कार्यकर्ताहरूले पनि यो कागजातले डेमोक्रेट तथा अन्य उच्च तहका व्यक्तिहरू लामो समयदेखि जाँचबाट जोगिएको दाबी पुष्टि गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले अझै पनि फाइल रोक्न विभिन्न उपाय खोज्न सक्ने भए पनि सिनेटमा विधेयक रोकेर वा प्रतिनिधि सभामा पारित भएपछि भिटो गरेर यसको मार्ग अवरुद्ध गर्नु अहिले अत्यन्त गाह्रो देखिन्छ । मध्यावधि निर्वाचन नजिकिँदै गर्दा जनभावना पारदर्शिताको पक्षमा खुलेर उभिएको अवस्थामा यस्तो कदम राजनीतिक रूपमा जोखिमपूर्ण हुने आकलन गरिएको छ । यस प्रकरणले रिपब्लिकन नेतृत्वभित्र दुर्लभ दरार पनि उजागर गरेको छ । सुरूमा फाइल सार्वजनिक गर्न उत्साहित देखिनुभएका नेता माइक जोनसन पदभार सम्हाल्नेबित्तिकै पछि हट्नुभएको थियो ।
डेमोक्रेटहरूले उहाँलाई ‘धोका’ दिएको आरोप लगाए भने एपस्टेन फाइल सार्वजनिक गर्न दबाब दिने राजनीतिक व्यक्तित्वमाथि पनि आरोप–प्रत्यारोप चलेका थिए । ट्रम्पले आइतबार ट्रुथ सोसल मा सार्वजनिक गरेको पोस्टमार्फत आफ्नो अडान फिर्ता लिँदै हाउस रिपब्लिकनहरूले फाइल सार्वजनिक गर्न मतदान गर्नुपर्ने बताउनुभएको थियो—“किनकि हामीसँग लुकाउन केही छैन ।” सोमबार ओभल अफिसमा पत्रकारहरूले सोध्दा उहाँले विधेयक सिनेट हुँदै आएमा हस्ताक्षर गर्न आफू ‘पक्षमा’ रहेको बताउनुभयो । तर यो सबै धेरैले ट्रम्पको अनुहार जोगाउने प्रयास मात्र भएको व्याख्या गरिरहेका छन्, किनकि आफ्नै पार्टीभित्रको विद्रोहले उहाँलाई पछि हट्न बाध्य पारेको देखिएको छ । सदनमा सबै डेमोक्रेट तथा चार रिपब्लिकन सांसदले ‘डिस्चार्ज पिटिशन’ मा हस्ताक्षर गरी मतदान प्रक्रियालाई बाध्यतापूर्वक अघि बढाए । यो निकै दुर्लभ र शक्तिशाली संसदीय उपाय मानिन्छ । हाउस नेतृत्वले यसलाई रोक्न कडा प्रयास गरे पनि अन्ततः सफल हुन सकेन ।
– अन्तिम क्षणका प्रयासहरू –
एपस्टेनले सन् २००८ मा वेश्यावृत्तिका लागि नाबालिग प्राप्त गरेकामा गरिएको सजायपछि पनि कम उमेरका किशोरी तथा युवतीहरूलाई लक्षित गरेको भनिएको यौन बेचबिखन सञ्जालमा पुनः फसेको अभियोगमा सङ्घीय मुद्दा खेपिरहेका थिए । उनको मृत्युलाई आधिकारिक रूपमा आत्महत्या भनिएको छ । ट्रम्पका महान्यायाधिवक्ता र एफबिआई निर्देशकले गत जुलाईमा एपस्टेनसम्बन्धी फाइलहरूको ‘व्यापक समीक्षा’ सकिएको र सामग्री सार्वजनिक नगर्ने कुनै औचित्य नभएको निष्कर्ष सुनाएका थिए । तर त्यसपछि सभामुख जोनसनले सदनलाई लामो अवकाशमा पठाउनुभयो, एपस्टेनसम्बन्धी विद्रोह चर्कँदा सेप्टेम्बर मध्यदेखि करिब दुई महिना विधायन प्रक्रिया भचुअल्ली रोकिएको थियो । उहाँले एक नयाँ निर्वाचित डेमोक्रेट सांसदको शपथ ग्रहणसमेत हप्तौँ ढिलाइ गर्नुभयो । उहाँले अन्ततः डिस्चार्ज पिटिशनमा निर्णायक २१८औँ हस्ताक्षर गर्नुभयो । यद्यपि जोनसनले यी कदम एपस्टेनसँग सम्बन्धित नभएको दाबी गर्नुभएको थियो ।
गत हप्ता ह्वाइट हाउसले मतदान रोक्नका लागि दुई रिपब्लिकन हस्ताक्षरकर्तालाई राजी गराउने अन्तिम प्रयाससम्म गरेको थियो । तर ट्रम्पले आफ्नी कट्टर समर्थक मार्जोरी टेलर ग्रीनसमेत फाइल सार्वजनिक गर्न समर्थन गर्नुपर्ने भन्दै चाप बढाउनुभएपछि परिस्थिति उल्टियो ।। ग्रीनले भन्नुभयो, “के छ फाइलमा, मलाई थाहा छैन, अनुमान पनि गर्न सक्दिनँ, तर सार्वजनिक गर्न यो धेरै किन लडाइँ ?” ट्रम्पले आफ्ना विरुद्ध आएका आरोप अस्वीकार गर्दै एपस्टेनसँगको सम्बन्ध धेरै पहिले नै टुटिसकेको बताए पनि हालै सार्वजनिक भएका केही इमेलमा एपस्टेनले ‘ट्रम्पलाई सबै कुरा थाहा छ, विशेषगरी केटीहरूका विषयमा’ भनेको खुलासाले भएका शङ्काहरू पुनः बलियो बनाएको छ ।यदि विधेयक प्रतिनिधि सभाबाट पारित भयो भने डेमोक्रेटहरूले रिपब्लिकनहरूलाई सिनेटमा तत्काल प्रक्रिया अघि बढाउन कडा दबाब दिने तयारी गरेका छन् । विधेयक पास गर्न सिनेटमा ६० भोट आवश्यक पर्छ—यसका लागि कम्तीमा १३ रिपब्लिकन सांसद पार लाग्नुपर्नेछ । त्यसभन्दा अघि वा पछि राष्ट्रपति ट्रम्पले भिटो गरे पनि दुवै सदनले दुई–तिहाइ बहुमतले ओभरराइड गर्न बाध्य तुल्याउने छ ।
रासस/एएफपी