२०८२ फाल्गुन २३ , शनिवार

सरकारी अस्पतालको सेवा गुणस्तरीय र भरपर्दाे : स्वास्थ्यमन्त्री गौतम

डा.सुधा-गौतम

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारी अस्पतालहरूबाट दिइने सेवा गुणस्तरीय एवम् सस्तो हुने भएकाले ढुक्क भएर उपचार गर्न आम सर्वसाधरणसँग अनुरोध गर्नुभएको छ । वीर अस्पतालको अनुगमन गर्दै सरकारी अस्पतालहरूमा राम्रो र भरपर्दाे सेवा पाइँदैन कि भन्ने सोचबाट मुक्त भई स्रोतसाधनसहित अनुभवी जनशक्ति भएको सरकारी अस्पतालबाट सेवा लिन सबैसँग अनुरोध गर्नुभयो ।मन्त्री डा गौतम भन्नुभयो, “सरकारी अस्पताल त्यसमाथि पनि वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन । निर्धक्क भएर उपचार गर्नाेस् । अस्पतालको सेवाप्रति ढुक्क हुनोस् र लाभान्वित हुनोस् ।” “वीर अस्पतालमा उपकरण र जनशक्तिको समस्या देखिएको छ । परामर्श सेवामा कमजोर रहेछाँै । ‘नर्स’को सङ्ख्या बढाउनुपर्ने भन्ने माग आयो । त्यसतर्फ अस्पताल व्यवस्थापनको ध्यान जान आवश्यक छ,” उहाँले भन्नुभयो । शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने भन्ने जनगुनासो सम्बोधन गर्न निर्देशन दिँदै उहाँले केन्द्रीयसहित प्रादेशिक अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गौतमका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा र श्रमिकका लागि ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्नु अस्पतालको सबल पक्ष हो । उहाँले वीर अस्पतालको जनशक्ति तथा उपकरण व्यवस्थापनका क्षेत्रमा सक्दो सहयोग प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस