
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ।आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको हो। योजना अनुसार एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी आवश्यक पर्ने र ती प्रहरी कति समयका लागि भर्ना गर्ने भन्ने बजेट अनुसार हुनेछ। हामीले आवश्यक संख्याको कुरा गरेका छौँ। अब यसमा सरकारले दिने बजेट अनुसार कति समयका लागि खटाउने भन्ने निर्णय हुन्छ,’ केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने।
यसअघि निर्वाचनमा निश्चित समयका लागि खटाइने सुरक्षा जनशक्तिलाई म्यादी प्रहरी भनिँदै आएको थियो। तर यसपटकदेखि म्यादी प्रहरी नभनेर निर्वाचन सुरक्षा प्रहरी भन्ने पनि निर्णय भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र बदलिँदो चुनौतीलाई आधार बनाएर आगामी निर्वाचन सुरक्षा योजना तर्जुमा भएको जानकारी दिए । सुरक्षा समिति बैठकले आइतबार निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ स्वीकृत गर्दै सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको हो ।
सुरक्षा समितिबाट सुरक्षा कार्ययोजना स्वीकृत भएसँगै अब सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नुपर्ने छ । सेना परिचालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ । एकीकृत कार्ययोजना स्वीकृत भएसँगै १० मंसिरदेखि निर्वाचनलाई लक्ष्य गरेर सुरक्षाकर्मी परिचालन हुनेछन् । अहिले सेनामा करिब एक लाख, प्रहरीमा करिब ८० हजार र सशस्त्रमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन् ।