
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालगञ्जको बीच बजार त्रिभुवनचोक क्षेत्रमा रहेको एकलैनी बजार उपभोक्ताको सदैव रोजाइमा पर्दै आएको छ । जहाँ पाइला–पाइलामा फरक–फरक सामानको लस्कर देखिन्छ । साँघुरो गल्लीभित्र, एकै लाइनमा जोडिएका पसलहरूः सौन्दर्य, चुरा, कपडादेखि जुत्ता र चप्पलसम्म एक लहरमा छन् । यो हो एकलैनी बजार, जसको इतिहास नेपालगञ्जको स्थापनासँगै जोडिएको छ ।नेपालगञ्जका सदरलाइन, त्रिभुवन चोक, बिपी चोक, धम्बोजी चोक, घरबारी टोल र सुर्खेत रोड प्रमुख बजार मानिए पनि स्थानीय र बाहिरबाट आउने सबैको रोजाइमा एकलैनी बजार नै पर्छ । चाडपर्वको बेला होस् वा अन्य जुनसुकै समयमा पनि एकलैनी बजारमा उपभोक्ताको लर्को लागिरहने स्थानीय विजय गुप्ता बताउनुहुन्छ ।सुनारमण्डी टोल निवासी गुप्ताका अनुसार अन्य चोक चौराहका बजार सुनसान हुँदै गए पनि एकलैनीको चहलपहल सदावहार रहेको छ । चाडपर्वका बेला उपभोक्ताको थप भीडभाड हुने गर्दछ ।
खासगरी सौन्दर्य र खाद्यान्नका सामानका लागि परिचित यो बजारमा किनमेलका लागि महिला तथा गृहिणीको उपस्थिति बाक्लो हुने गर्दछ । किनमेल गर्नेको ताँती लाग्ने भएकाले यहाँका व्यापारीलाई खासै फुर्सद हुँदैन । चाडबाडको समयमा त पाइला टेक्ने ठाउँसमेत पाउन मुस्किल पर्छ । चौबीस वर्षदेखि पसल चलाइरहेका स्थानीय व्यापारी आशिष निगमका अनुसार पछिल्लो समय सौन्दर्य प्रशाधनका सामग्रीको प्रयोग बढेको छ । एकलैनी बजारको सफलताको मुख्य कारण नै सस्तो मूल्यमा राम्रो सामान उपलब्ध हुनु हो । “एकलैनीमा सबैभन्दा बढी सौन्दर्यकै पसल छन् । बजार बढ्दै गएपछि व्यापारमा प्रतिस्पर्धा पनि तीव्र भएको छ”, उहाँले भन्नुभयो, “सुरुमा २० जति जुत्ता पसल रहेकामा अहिले २०० भन्दा बढी पसल थपिएकाले सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनीको ‘मार्केट’ चलिरहेको छ ।” नेपालगञ्ज–२१ फुल्टेक्रा नयाँबस्तीकी सिर्जना थापा एकलैनी बजारको नियमित ग्राहक हुनुहुन्छ । जुत्ता चप्पल र महिलाको सौन्दर्य सामान अन्यत्रभन्दा सस्तो र सजिलै पाइने भएकाले एकलैनी बजार सहज लाग्ने गरेको उहाँको भनाइ छ ।
स्थानीय अगुवा बलराम यादवका अनुसार एकलैनी बजार पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, दैलेख, सुर्खेतलगायतका सर्वसाधारणको पनि प्रमुख गन्तव्य थियो । दशकौँअघि पहाडबाट आएका मानिसले एकलैनी बजारबाटै नुन र लत्ताकपडा केही वर्षलाई पुग्ने गरी लैजाने गरेको उहाँको सम्झनामा छ । उहाँका अनुसार एकलैनी बजार नेपालगञ्जको केवल किनमेल गर्ने ठाउँ मात्र होइन, यो यहाँको पुरानो व्यापारिक सम्बन्ध र संस्कृतिलाई बोक्ने एउटा जिउँदो इतिहास पनि हो । नेपालगञ्ज वडा नं ३ मा अवस्थित एकलैनी बजारले मोटर जान नसक्ने तीन मिटरभन्दा सानो बाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था वर्षौंदेखि भोग्दै आएको छ । नेपालगञ्ज—३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले एकलैनी बजारको विस्तार हुन नसक्दा यो क्षेत्रबाट शृङ्गार र दैनिक उपभोग्य वस्तुको पसलबाहेक अन्य पसल विस्तारित क्षेत्रमा सर्दै गएको बताउनुभयो । एकलैनी बजार विस्तारका लागि योजना अगाडि सारे पनि सफल हुन नसकेको उहाँको भनाइ छ ।
रासस