
सुनाखरी न्युज/ काठमाडौं ।
नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गोलपोखरी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको छ । उत्तरतर्फ देखिने हिमशृङ्खला, नवलपुरको पहाडी क्षेत्रका बस्ती, कालीगण्डकी नदी आसपास नवलपुर र तनहुँका पहाडका टाकुराको रमणीय दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । छोटो दूरीको पहाडी यात्राको अनुभव लिँदै हिमाली दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र सुन्दर लागेको गोलपोखरी घुम्न पुग्नुभएका कावासोती–१५ का दुर्गा महतोले बताउनुभयो ।बजार क्षेत्रबाट केही किलोमिटरको यात्रा गरी यति सुन्दर हिमाल र पहाडका दृश्यहरू देख्दा आफूलाई निकै रमाइलो लागेको उहाँले बताउनुभयो । नवलपुरबाटै यति सुन्दर हिमशृङ्खला अवलोकन गर्न पाइन्छ भन्ने आफूलाई नलागेको र गोलपोखरी आउँदा फरक अनुभूति गरेको महतोले बताउनुभयो । “बजार क्षेत्रमै रहँदा कस्तो होला भन्ने थियो, यहाँ आउँदा साँच्चै नवलपुरको यस्तो ठाउँ पनि रहेछ भन्ने भयो, सेता हिमाल आँखै अगाडि देख्दा धेरै आनन्द आयो”, उहाँले भन्नुभयो ।
महतोजस्तै अहिले नवलपुरको बजार क्षेत्रबाट गोलपोखरी पुग्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । नवलपुरको कावासोती फलफूल चोक तथा देवचुलीको दलदलेबाट कुमसोत–पोखरी हुँदै करिब २५ किलोमिटर यात्रा गरेपछि गोलपोखरी पुग्न सकिन्छ । गोलपोखरी क्षेत्रमा मुख्य गरी सार्वजनिक बिदाका दिनमा आन्तरिक पर्यटकको चहलपहल धेरै हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाले गोलपोखरीसहितको धौबादी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम गरेको वडाध्यक्ष रानामगरले बताउनुभयो । गालेपोखरी पार्क क्षेत्रमा दुईवटा प्रतीक्षालय निर्माण गरिएको छ । गोलपोखरी पुग्ने पर्यटकलाई पदयात्रासँगै हिमाली दृश्यको सहज अवलोकनका लागि एक हजार १०० मिटर लम्बाइको पदमार्ग पनि निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताउनुभयो । गोलपोखरीबाट धौबादी पहाडमा पदमार्ग निर्माण गरेसँगै पर्यटकको आगमन थप बढेको उहाँले बताउनुभयो । पदमार्ग हुँदै यात्रा गर्दै हिमालसहित जिल्लाको पहाडी बस्तीको अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको उहाँले बताउनुभयो । गोलपोखरी क्षेत्रबाट लामो दूरीमा फैलिएको उत्तरतर्फका हिमशृङ्खला सहज रूपमा अवलोकन गर्न सकिने वडाध्यक्ष रानामगरले बताउनुभयो ।
“गोलपोखरी मुख्यगरी लामो रेन्जमा हिमाल देख्न सकिन्छ, यसकारण पनि हिमालको दृश्य हेर्न, पहाडमा निर्माण गरिएको पदमार्गमा डुल्न आउने क्रम बढेको छ”, वडाध्यक्ष रानामगरले भन्नुभयो । गोलपोखरीमा उद्यान पनि निर्माण गरिएको छ । तारबारले घेरेर गोलपोखरी शान्ति पार्क निर्माण गरिएको भए पनि अहिले उक्त पार्क बन्द छ । समिति मातहतबाट सञ्चालन गर्नेगरी केही वर्षअघि पार्क क्षेत्रभित्र विभिन्न संरचना निर्माण गरिएको भए पनि समितिबाट तदारुकताका साथ सञ्चालनको काम नहुँदा अहिले उक्त पार्क बन्द अवस्थामा रहेको वडाध्यक्ष रानामगरले बताउनुभयो । पार्कलाई व्यवस्थित गरी थप पर्यटकीय गतिविधि सञ्चालनको उद्देश्य रहेको उहाँको भनाइ छ । गोलपोखरी क्षेत्रमा थप पर्यटकीय पूर्वाधार निर्माण गर्न सक्ने हो भने जिल्लाको पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने वडाध्यक्ष रानामगरले बताउनुभयो । उक्त क्षेत्रमा अहिले खानेपानीको समस्या छ । खानेपानी पुर्याउन सक्ने हो भने वनभोजस्थलका रूपमा पनि विकास गर्न सकिने उहाँले बताउनुभयो । पोखरी गाउँदेखि गोलपोखरीसम्मको बाटोमा केही क्षेत्र अलि जीर्ण रहेकाले त्यसलाई राम्रो बनाउन सके थप सहज रूपमा पर्यटक गोलपोखरी आउन सक्ने उहाँले बताउनुभयो ।
रासस