२०८२ फाल्गुन २५ , सोमवार

एमालेसँगै कांग्रेसमा पनि प्रतिनिधिसभा पुनःस्थापनाको रिट लग्न हस्ताक्षर संकलन सुरु

Oli Deuba

सुनाखरी न्युज/ काठमाडौं ।
संसद् पुनःस्थापनाका लागि एमालेले अदालतमा रिट लिएर जाने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेका छन् । प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटउपर संवैधानिक इजलासमा भएको प्रारम्भिक बहसमा प्रत्यक्ष सरोकारवाला सांसदहरूको रिट परेकोरनपरेको प्रसंग उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा सांसदका तर्फबाट रिट लैजाने तयारी भएको हो ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि कांग्रेसले चुनाव जाने तयारी गरेको थियो । तर, प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालत जानेबारे सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच पटक–पटक कुराकानी भएको नेताहरूले बताएका छन् । देउवाको निर्देशनपछि प्रतिनिधिसभामा तत्कालीन कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन सुरु गरिसकेका छन् ।

घिमिरेका अनुसार आइतबारसम्म ३५ सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा संस्थापन पक्षका सदस्य धेरै छन् । ‘प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार गठन नै असंवैधानिक छ, अर्कोतर्फ यो सरकारले निर्वाचन गराउने वातावरण पनि देखिएन, त्यसैले पुनःस्थापनाका लागि पार्टीको औपचारिक धारणा बनाउन हस्ताक्षर संकलन गरिएको हो,’ घिमिरेले भने ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका निवर्तमान सांसद दीपक गिरीले असंवैधानिक कदम सच्याउन र संविधान संशोधनलगायत जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्न कांग्रेस पनि संसद् पुनःस्थापनाको पक्षमा लाग्नुपर्छ भन्नेमा तत्कालीन संसद्का बहुमत सदस्यहरू रहेको दाबी गरे ।