
सुनाखरी न्युज/ काठमाडौं ।
चलचित्र ‘परान’ ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। मर्मस्पर्शी पारिवारिक कथावस्तु बोकेको यो फिल्म हेरेर दर्शकहरू भावुक भई भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा छरिएका छन्। ‘सक्किगो नि’ टेलिशृंखलामा ‘काकु’ पात्रका रूपमा लोकप्रिय बनेका दीपकप्रसाद आचार्य को निर्देशकीय यात्रामा पहिलो कदमको रूपमा रहेको ‘परान’ ले उत्कृष्ट कथा, जीवन्त अभिनय र मन छुने प्रस्तुतिको कारण चौतर्फी प्रशंसा पाइरहेको छ। दर्शकहरूले यसलाई आचार्यको ‘डेब्यू निर्देशन’ मै एउटा अब्बल कार्यको संज्ञा दिएका छन्।
चलचित्रको प्रमुख भूमिकामा रहेका वरिष्ठ अभिनेता नीर शाह को अभिनयलाई दर्शकले विशेष रूपमा मन पराएका छन्। शाहसँगै पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतका कलाकारहरूको कामले पनि उत्तिकै तारिफ पाएको छ। रिलिजको पूर्व सन्ध्यामा आयोजना गरिएको विशेष प्रिमियर शोमा समेत कलाकार, व्यवसायी, पत्रकार तथा सम्पादकहरूले फिल्मको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले ‘परान’ लाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावनालाई गहिरोसँग समेटेको’ चलचित्रको रूपमा चित्रण गरेका थिए।
प्रारम्भिक दिनहरूमा अपेक्षाकृत कम ओपनिङ भए तापनि, सप्ताहन्तपछि फिल्मले हलहरूमा दर्शकको उपस्थिति बढाउँदै लगेको छ। खास गरी सोमबारदेखि दर्शकको सङ्ख्यामा आएको ‘पिकअप’ ले निर्माण पक्षलाई उत्साहित बनाएको छ, फलस्वरूप हलको सङ्ख्या समेत वृद्धि भएको निर्माताले जनाएका छन्। ‘परान’ ले मुख्यतः परिवारको महत्त्व, बाबुछोराको संवेदनशील सम्बन्ध, पुँजीवादको प्रभावले खलबलिएका नेपाली परिवारहरू र दुई पुस्ताबिचको सोच तथा सपनाको द्वन्द्वबाट उत्पन्न हुने परिस्थितिलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।