२०८२ फाल्गुन २८ , बिहिवार

बागलुङ–घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

Untitled-3-2-768×384

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको २५ वर्ष बित्दा पनि कालोपत्र नहुँदा स्थानीय र यात्रुले सास्ती खेप्दै आएका छन् । सडक हिउँदमा धुलो र बर्सातमा हिलो हुने गरेको छ । निर्माण कम्पनीले तत्काल काम नथालेमा स्थानीयले आगामी मङ्सिर १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए छन् । यसअघि आन्दोलन गरेका बिहुँवासीले सडक बन्ने आश्वासन पाएपछि पछि हटेका थिए । काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर निर्माण कम्पनीले तत्काल काम नगरेमा सडक ठप्प पार्ने चेतावनी दिएका छन् । स्थानीय कृष्ण कँडेलले भन्नुभयो, “यो सडकले हामीलाई धेरै समस्या गरायो, सडक बन्ला बन्ला भन्ने आशामा यतिका वर्ष धैर्य भयौँ, धैर्य गर्दागर्दा आजित भइसक्याँै, अब सडक निर्माणको काम थालिएन भने मङ्सिर १ गतेदेखि सडक अवरुद्ध गर्छौँ ।” विसं २०६८ देखि थालिएको लोकमार्ग आयोजनाको काम पटकपटक अलपत्र पर्दा यात्रीले सास्ती खेप्नुपरेको छ ।

सडकका कारण काठेखोला गाउँपालिका–१, २, ५ र ६ का घर, खेती र फलफूल समेत धुलोले पुरिने गरेको छ । किसानले डाले घाँससमेत पशुचौपायालाई खुवाउन नपाएको गुनासो गरे । ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्का खुलाएको डेढ वर्ष पुग्न लाग्दा अझै काम अगाडि नबढेको काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले बताउनुभयो । मध्यपहाडी लोकमार्ग बागलुङभित्र १४२ किलोमिटर छ । त्यसमध्ये अन्य खण्ड कालोपत्र भइसकेको छ । सो खण्डको काम सूर्य कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको थियो । विसं २०७२ माघ १० को ठेक्काको काम नौ वर्षमा ५५ प्रतिशत प्रगति नगरेपछि कालोसूचीमा परेर रद्द भई गत वर्ष रिजाल तामाङ भगवती जेभीले ठेक्का लिएको थियो । विसं २०८१ असारमा सम्झौता गरी विसं २०८३ असारमा सक्ने सम्झौता गरेको एक वर्ष बितिसक्दा काम नथालेपछि स्थानीय आक्रोशित भएका हुन् ।
रासस