२०८२ फाल्गुन २४ , आइतवार

लागूऔषध नियन्त्रणका लागि सुरक्षा समितिको बैठक

drugs_lagu-ausad

सुनाखरी न्युज / काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा लागूऔषधको बिक्रीवितरण, सेवन तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा समितिसहित सरोकार भएका निकायका प्रतिनिधिबीच बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा जिल्ला प्रहरी कार्यालयले सबै स्थानीय तहसँग समन्वय गरी विद्यालय, क्याम्पस, वडा र टोलमा लागूऔषध नियन्त्रण सम्बन्धमा जनचेतानामूलक कार्यक्रमलाई तीव्रता दिने, जिल्लाभित्र लागूऔषधकोे प्रयोग नियन्त्रण गर्न सुरक्षा निकायबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका रेडियो तथा अन्य सञ्चारमाध्यमबाट लागूऔषधको प्रयोगले हुने हानी तथा नियन्त्रणका सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ रेग्मीले उल्लेख गर्नुभयो ।

साथै बैठकमा नेपाल–चीन व्यापारका लागि सीमा अनुमतिपत्रका विषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । चीनको ताक्लाकोट र सीमा क्षेत्रमा व्यापार, व्यवसाय गर्न चाहनेले अन्य क्षेत्रबाट हुम्लामा बसाइँसराइ गरेको कागज पेस गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । “अन्य जिल्लाबाट जारी गरिएको नागरिकता स्पष्ट बुझिने हुनुपर्ने, नागरिकता अन्य निकायमा पेस गर्न मिल्ने हुँदासम्म प्रतिलिपि जारी नगर्ने, नागरिकता प्रतिलिपि जारी गर्दा एकल बसाइँसराइ गरी आउने परिवारको सदस्यबाट सनाखत गराउनुपर्नेलगायत निर्णय बैठकले गरेको छ”, प्रजिअ रेग्मीले भन्नुभयो । बैठकमा विभिन्न पार्टीका प्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीय सरकारका प्रतिनिधि र चीनको ताक्लाकोटका प्रतिनिधिको सहभागिता थियो ।
रासस