
कृष्ण अधिकारी
यसै साता (अक्टोबर २३) विश्वका धेरै देशमा ‘मौन संरक्षकको सुरक्षा गर्दै’ भन्ने नाराका साथ हिउँ चितुवा दिवस मनाइयो । अघिल्लो वर्ष ‘भावी पुस्ताका लागि हिउँ चितुवाको वासस्थानको सुरक्षा’ भन्ने नारा तय गरिएको थियो । यसले हिउँ चितुवाको वासस्थान उच्च जोखिममा रहेको तथ्यलाई विश्वव्यापी रूपमै स्वीकार गरिएको छ भने यसको संरक्षणका लागि स्थानीय समुदायदेखि सरोकारवाला निकायले संरक्षकको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ । यतिबेला मनाङ, मुस्ताङमा प्रशस्त पर्यटक त्यहाँको प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न गएको समाचार आइरहँदा ती क्षेत्र हिउँ चितुवाको बासस्थान पनि हो भन्ने कुरा धेरैलाई थाहा नहँुन सक्छ । हिउँ चितुवालाई पर्यटकीय क्रियाकलापसँग जोड्न सकिएमा यसले स्थानीय वासिन्दाको जीविकोपार्जनमा टेवा पुग्दछ । जसरी चितवनको सौराहामा एकसिङ्गे गैँडा, हात्तीलगायतका जनावर पर्यटकको आकर्षण बनेका छन्, त्यसरी नै हिउँ चितुवा हेर्न पनि पर्यटक जाने वातावरण बनाउन सकिन्छ ।
नेपालमा झण्डै ३० हजार वर्ग किमि क्षेत्र हिउँ चितुवाका लागि उपयुक्त रहेको मानिन्छ । हिउँ चितुवा पाइएको क्षेत्रमध्ये ५८ प्रतिशत संरक्षित क्षेत्र रहेको छ भने ४२ प्रतिशत निकुञ्ज बाहिर रहेको छ । हिउँ चितुवाको संरक्षण एक निकुञ्ज र संरक्षित क्षेत्रमा मात्रै काम गरेर हुँदैन । समुद्री सतहबाट २,७०० देखि पाँच हजार ६०० मिटर उचाइमा पाइने यो जनावर नेपालसहित अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ रहेको छ भने विश्वमा करिब चार हजारदेखि छ हजार ५०० को सङ्ख्यामा रहेको अनुमान गरिन्छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँ चितुवा रहेको बताइन्छ । विश्वभरिका चिडियाघरमा करिब ६०० वटा हिउँ चितुवा रहेको बताइन्छ । स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने हिउँ चितुवा एक दुर्लभ र अति सुन्दर वन्यजन्तु हो, जसलाई “पर्वतको भूत” भनेर पनि चिनिन्छ । यसको लुकिचोरी बस्ने र अत्यन्तै सतर्क र छिपाउने क्षमतायुक्त स्वभाव भएको हुनाले नै कतिपयले यसलाई पर्वतको भूत भन्ने गरेका हुन् ।
नेपालमा यसको मुख्य बासस्थानमा मुस्ताङ, मनाङ, मुगु, हुम्ला, डोल्पा, रसुवा, सोलुखुम्बु र ताप्लेजुङ जिल्लाको प्रायः तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइसम्मका चट्टानी र बर्फिला क्षेत्रमा पाइन्छ । हिमाली समुदायमा हिउँ चिुतुवालाई स्थानीय देवताको पाल्तु जनावरको रूपमा लिने भएकोले यसको सांस्कृतिक महत्व रहेको बुझ्न सकिन्छ । एक्लै बस्ने स्वभाव रहेको यस जनावरको मुख्य आहार नाउर, झारल, कस्तुरी मृग, फ्याउ मूसो, हिमाली खरायो, डाँफे आदि रहेको छ । हिमालको रक्षकको रूपमा पनि लिने गरिने हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वस्थ्य पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्साको रूपमा लिने गरिन्छ । पछिल्लो समय जलवायु परिवर्तन एवं मानव–वन्यजन्तु बीचको द्वन्द्वका कारण हिउँ चितुवाको वासस्थानमा प्रभाव र आहाराको अभाव हुँदा यसको सङ्ख्यामा कमी आउँदा पर्या–प्रणालीमा असर देखिन थालेको छ । वासस्थानको गुणस्तर र आहारा प्रजातिमा कमी आउनु नै हिउँ चितुवाको संरक्षणको मुख्य चुनौती रहेको छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको र यसको प्रभावले हिउँ चितुवाको वासस्थानमा ह्रास आएको छ ।
हिमाली क्षेत्रमा हिमरेखा (वृक्षरेखा) माथितिर सरिरहँदा हिउँ चितुवाको वासस्थान मानिएको क्षेत्र साँघुरिँदै गएको छ । यसले गर्दा एकातिर हिउँ चितुवाले जलवायु शरणस्थलको रूपमा माथितिर विस्थापित हुनुपर्नेछ भने अर्कोतिर यदाकदा अन्य जनावरजस्तै चितुवासँग पनि आहाराका लागि सङ्घर्ष गर्नुपर्ने भएको छ । नाउर, झारलजस्ता आफ्नो आहारा खोज्दै तल झर्दा तिनको सङ्ख्या घट्न गएकाले चरनमा रहेका वा बस्तीमा पसेर भेडाबाख्रा वा अन्य घरपालुवा जनावरलाई मार्ने क्रम बढ्न थालेको छ । यसले गर्दा किसानले हिउँ चितुवालाई पासो लगाउने, विष राख्ने हुँदा पनि यसको अस्तित्व सङ्कटमा परेको छ । यसरी जलवायु परिवर्तनसँगै मानिस र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै गएको छ । हिउँ चितुवा एकै स्थानमा रहन्छ भन्ने पनि हुँदैन । जीपीएस स्याटेलाइट अध्ययनले नेपालको कञ्चनजङ्घामा रेडियो कलर गरिएको हिउँ चितुवा भुटानमा फेला परेको थियो । हिमाली श्रृङ्खलामा जोडिएका सिमावर्ती भारत, तिब्बतमा पनि सहजै जानसक्ने हुँदा यसको संरक्षणमा त्रिदेशीय सहकार्य र समन्वय हुन आवश्यक छ । हिउँ चितुवा हिमाली संस्कृति र धर्मसँग पनि जोडिएको हुनाले यसको संरक्षणलाई जनताको आर्थिक पक्षसँग जोड्नुपर्छ ।
संरक्षणमा राष्ट्रिय प्रयास
जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएपछि वासस्थान नष्ट हुने क्रमसँगै यसको अस्तित्व सङ्कटमा परेको छ । वासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको छ । हिउँ चितुवा संरक्षणमा देखिएका मुख्य चुनौतीमा मानव र वन्यजन्तुबीचको द्वन्द्वलगायत वासस्थानको ह्रास, आहारका लागि शिकार प्रजातिको कमी, चोरी शिकार, गैरकानुनी व्यापार र प्रतिशोधात्मक द्वन्द्वलाई मानिन्छ । अतः यी चुनौतिको न्यूनीकरणका लागि सरकार र विभिन्न सङ्घसंस्थाको पहलमा संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन् । यस अनुरुप राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) अन्तर्गत यसका आयोजना क्षेत्रमा हिउँ चितुवाको क्यामेरा ट्र्याप अनुगमन, परभक्षी प्रतिरोधक गोठ निर्माण, गोठाला शिक्षा लगायतका क्रियाकलाप गरेको पाइन्छ भने नेपाल सरकार र विश्व वन्यजन्तु कोषबाट कञ्चनजङ्घा संरक्षण क्षेत्रमा समुदायमा आधारित पशुधन बीमा कार्यक्रम, कञ्चनजङ्घा संरक्षण क्षेत्र र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा जीपीएस स्याटेलाइटबाट हिउँ चितुवाको वैज्ञानिक अध्ययन् अनुसन्धान भएका छन् । यसदेखि बाहेक मनाङ र डोल्पामा हिउँ चितुवा लक्षित पर्यटन कार्यक्रम पनि सञ्चालनमा रहेका छन् । यसैगरी, समुदायमा आधारित हिउँ चितुवा संरक्षण परियोजना (सिबिएसएलसिपी)मार्फत मुस्ताङ र ताप्लेजुङका विभिन्न समुदाय र विद्यालयमा हिउँ चितुवा लक्षित संरक्षण शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् ।
स्थानीय पाठ्यक्रममा हिउँ चितुवा संरक्षण शिक्षा
हिउँ चितुवाको महत्वपूर्ण वासस्थान क्षेत्र रहेका नेपालका दुई जिल्ला मुस्ताङ र ताप्लेजुङले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा हिउँ चितुवासम्बन्धी विषयवस्तु समावेश गरेका छन् । मुस्ताङमा घरपझोङ गाउँपालिकाको सक्रियता र टेका समूह नेपालको पहलमा तथा ताप्लेजुङमा फक्तालुङ गाउँपालिका आफैँले स्थानीय पाठ्यक्रम निर्माण गरी हिउँ चितुवाका सन्दर्भ समावेश गरेको छ । सिबिएसएलसिपीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा हिउँ चितुवा संरक्षण शिक्षाका कक्षा ६, ७ र ८ का विद्यार्थीलाई लक्षित गरी तीनवटा सन्दर्भ पुस्तक तयार गरेको हो । यसको प्रभावकारितालाई मूल्याङ्कन गरी कक्षा ९ देखि १२ सम्म पनि यसलाई निरन्तरता दिनसके यसको समावेश गर्नसके हिउँ चितुवा संरक्षणको संस्थागत दिगो विकास हुने देखिन्छ । कुनै स्थान विशेषका पाठ्यक्रममा मात्र नभएर राष्ट्रिय स्तरबाटै विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा समेत हिउँ चितुवालगायत संरक्षित वन्यजन्तुसम्बन्धी विषयवस्तु समावेश गर्नु आवश्यक छ ।
हिउँ चितुवा संरक्षण राष्ट्रिय कार्ययोजना र स्थानीय सहभागिता
नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको सहयोगमा हिउँ चितुवा संरक्षण राष्ट्रिय कार्ययोजना (सन् २०२४–२०३०) कार्यान्वयनमा ल्याएको छ । यस कार्ययोजनाले हिउँ चितुवा जस्तो अद्वितीय प्रजाति र यसको सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षणका लागि मार्गदर्शन गरेको छ । यसमा हिउँ चितुवाको वैज्ञानिक अध्ययनदेखि वासस्थान, पारिस्थितिकी र जैविक मार्गको सुधार, हिउँ चितुवा र समुदायबीचको द्वन्द्व न्यूनीकरण, वन्यजन्तु अपराध र व्यापार नियन्त्रण एवम् राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने र स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्य राखिएको छ । स्थानीय समुदायको संलग्नता र सहभागिता बिना कुनै पनि संरक्षणको प्रयास सम्भव हुँदैनन् भन्ने विभिन्न अध्ययन र अभ्यासले पनि प्रष्ट भएको छ ।
हिउँ चितुवा संरक्षण र प्रवर्द्धनका लागि समुदाय नेतृत्वमा आधारित आमा समूहको परिचालन एवं नागरिक वैज्ञानिक तयार गरी तिनको परिचालन गर्ने काम केही स्थानमा भएका छन् । यस्ता कार्यक्रम अन्य हिउँ चितुवा वासस्थान क्षेत्रहरुमा बिस्तार गरिदै लगिनु आवश्यक छ । हिमाली पारिस्थितिक प्रणाली सन्तुलन कायम राख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने र हिमाली समुदायको सास्कृतिक, सामाजिक तथा आर्थिक पक्षसँग सम्बन्ध राख्ने महत्व राख्ने जीव भएको हुनाले हिउँ चितुवा संरक्षणमा हामी सबैको चासो जानु जरुरी छ । अतः हाम्रा भविष्यका सन्ततिका लागि यसको दिगो संरक्षण तथा व्यवस्थापन हुनु अपरिहार्य छ । यसका लागि हिउँ चितुवामाथि थप अनुसन्धान तथा जनचेतना अभिवृद्धिमूलक कार्यक्रमलाई बढावा दिनुपर्ने देखिन्छ ।
रासस