२०८२ फाल्गुन २६ , मंगलबार

१० सदस्यीय बन्यो मन्त्रिपरिषद्, अझै पाएन पूर्णता

sapath

सुनाखरी न्युज/ काठमाडौँ ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‍मा दुई मन्त्री थपिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता ले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा सपथ दिलाए । यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ समेत मन्त्री हुने भनिएपनि उनीहरुबारे विवाद बाहिरिएपनि शपथ रोकिएको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

भदौ ३० गते रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री बनाएकी कार्कीले असोज ६ गते अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन् ।

कार्कीले पहिलो पटक मन्त्रिपरिषद् गठन गर्दा रामेश्वरप्रसाद खनाललाई अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएकी थिइन् ।