
सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ।
वर्षको रेकर्ड तोड्ने गरी मूल्य वृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको हो।
एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य सोमबार ४,३८१ डलरसम्म पुगेको थियो। मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।
धेरै विश्लेषकले यसलाई ‘ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरेका छन्।
एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो। मूल्य वृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत हुनसक्ने उनले बताएकी छन्।
यस वर्ष सुनको मूल्यमा भएको ऐतिहासिक वृद्धि केही सातायता झन् तीव्र भएको थियो। दुई महिनामै २५ प्रतिशतसम्म मूल्य बढेको थियो।
‘छ सातामै १,००० डलर वृद्धि हुनुले नै मूल्य कति माथि पुगेको थियो भन्ने देखाउँछ,’ उनले भनिन्।
मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७.४ प्रतिशत र ५ प्रतिशत घट्यो।
बजारमा अव सुनको मुल्यले करेक्सनको वाटो समाउन सक्ने बिश्लेषहरुको भनाई छ ।