
सुनाखरी न्युज/ काठमाडौं ।
शिवसताक्षी नगरपालिका–१० माईधारस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रममा रू ११ करोडको लगानीमा ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’ (मन्दिर) निर्माण भएको छ । विभिन्न दाताहरुको सहयोगमा दक्षिण शैलीमा आश्रम परिसरमा मन्दिर निर्माण गरिएको आश्रमका अध्यक्ष स्वामी गोविन्दचार्यले जानकारी दिनुभयो । “भौतिक संरचना निर्माणमा नौ करोड खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “अहिले रङरोगन र सजावटको काम भइरहेको छ, जसमा दुई करोड खर्च हुन्छ ।” विसं २०२८ मा स्थापना भएको आश्रम जिल्ला प्रशासन कार्यालय झापामा विसं २०५१ मा दर्ता भएर सञ्चालन भइरहेको छ । नेपालका प्रथम जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको अभिमत प्राप्त आश्रमले नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशमा रहेका मठमन्दिरको अभिभावकत्व निर्वाह गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
कूल १० बिघामा फैलिएको आश्रममा श्रीलक्ष्मीनारायण मन्दिर, श्रीबोगिराज स्वामीजीको कृष्टि मन्दिर, श्रीजनन्तादर्श संस्कृत वेद विद्यालय, श्रीलक्ष्मीनारायण मौज्ञाला, वैष्णवालय, छात्राबास, पुस्तकालय, बज्ञमण्डपलगायतका संरचना रहेको आश्रमका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।“आश्रमले धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ”, उहाँले भन्नुभयो, “आश्रम पछिल्लो धार्मिक पर्यटनका महत्वपूर्ण स्थान बन्दै गएको छ ।” कोशी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ छ । मन्दिरमा प्रतिस्थापन गर्न एक दर्जनभन्दा बढी पत्थर मूर्ति र दुई दर्जनभन्दा बढी धातु मूर्ति ल्याइसकिएको मन्दिर निर्माण समिति सचिव हरिनारायण बाँस्कोटाले जानकारी दिनुभयो । मन्दिर निर्माणको सबै खर्च भक्तजनको दान–चन्दाबाट प्राप्त भएको उहाँले बताउनुभयो । कोशी प्रदेश सरकार तथा सहरी विकास मन्त्रालयबाट भान्साघर निर्माणका लागि रू २५ लाख सहयोग प्राप्त भएको जनाइएको छ ।
आगामी वैशाखमा उद्घाटन
मन्दिरको प्रतिष्ठा समारोह आगामी २०८३ वैशाखमा हुनेछ । उद्घाटनका अवसरमा वैशाख ११ देखि १८ गतेसम्म भव्य धार्मिक अनुष्ठान हुने मन्दिरका उत्तराधिकारी स्वामी भागवत आचार्यले जानकारी दिनुभयो । समारोहमा नेपाल, भारत, भुटान, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत देशबाट एक हजार जनाभन्दा बढी विशिष्ट धर्माचार्य, शन्त, महन्त, विद्वान् एवं भक्तजनको सहभागिता रहने उहाँले बताउनुभयो । उद्घाटन समारोहमा दक्षिण भारतको तामिलनाडु काञ्चीपुरम्स्थित श्रीकाञ्चीप्रतिवादी भयकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूषित श्रीनिवासाचार्य स्वामीजी महाराज प्रमुख आतिथ्य रहनेछ । समारोह सम्पन्न गर्न करिब रू तीन करोड खर्च हुने आश्रमले जनाएको छ ।
रासस