२०८२ फाल्गुन ३० , शनिवार

फेरी सक्रिय हुँदै मनसुन, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

rain-weather (1)

सुनाखरी न्युज/काठमाडौं ।

नेपालमा  दशैंको टीकाको भोलिपल्टदेखि भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ ।

मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका छन् ।

 

मौसम प्रक्षेपणका लागि प्रयोग गरिने युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल ९ग्लोबल फरकास्ट सिस्टम (जीएसएफ०ले भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका हुन् ।

यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक्षेपण छ ।

 

असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।
नेपालमा मौसमको भविष्यवाणी गर्ने सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गर्दै असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

‘यस वर्षको दशैंको अवधिभर मनसुनी वायुको प्रभाव रही दशैंको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ विभागले मंगलबार साँझ जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

नेपालमा कुन दिन कस्तो असर देखिन्छ ?

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाका भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमश सर्ने छ ।

त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने छ । र, असोज १७ गते (एकादशी) का दिनबाट खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।

यसको असरले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

असोज १८ गते ९द्वादशी०को दिन पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

असोज १९ गते ९त्रयोदशी० को दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।