
सुनाखरी न्युज/ काठमाडौं ।
इलामसँग सिमाना जोडिएको झापाको कृष्णथुम्कीमा पर्यटकीय आकर्षण बढेको छ । महाभारतकालीन पौराणिक कथनअनुसार द्वापरयुगमा पाँच पाण्डव गुप्तबास बसेका बेला भगवान् श्रीकृष्ण गाई चराउँदै कृष्णथुम्कीमा पुग्नुभएको थियो । मेचीनगर नगरपालिका – १ मा रहेको पाँच वटा थुम्कीमध्ये मुख्य डाँडो ‘कृष्णथुम्की’ हो । जहाँ श्रीकृष्णका गाईहरूको खुरको शिला अहिले पनि मन्दिरमा राखिएको जनविश्वास छ ।
खुरको दर्शन गर्न बर्सेनि हजारौँ भक्तजन यहाँ आउने गरेका कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले बताउनुभयो । पौराणिक कथाअनुसार अरु पाँच वटा थुम्की पाँच पाण्डवको प्रतीकका रूपमा रहेका छन् । मेची र सिद्धी नदीको सङ्गम नजिक रमणीय प्राकृतिक वातावरणमा कृष्णथुम्की अवस्थित छ । हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको आ- आफ्नो आस्थाअनुसारको मठमन्दिर निर्माण गरिएकाले पछिल्लो समय कृष्णथुम्की सबै धर्मावलम्बीको साझा तीर्थस्थल बन्न पुगेको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर पहाडको फेदीमा रहेको उक्त रमणीय धार्मिकस्थलमा पूजाआजाका लागि भक्तजन र अवलोकनका लागि पर्यटक आउन थालेपछि यो स्थान पर्यटकीयस्थलका रूपमा परिचित बन्दै गएको समितिका अध्यक्ष क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सरकारले पर्यटकीय प्रवर्द्धनका लागि स्थानीयलाई समेटेर विकास समिति गठन गरेको छ । दसैँ, श्रीकृष्ण जन्माष्टमी, बुद्धपूर्णिमा र उधौली उभौली पर्वमा यहाँ धार्मिक पर्यटकको आगमन अत्यधिक हुने जनाउँदै उहाँले अरुबेला पनि देशविदेशबाट पर्यटक आइरहने बताउनुभयो । पर्यटकीय चहलपहल बढेपछि तीनै तहका सरकारले कृष्णथुम्कीको विकासमा लगानी बढाएका छन् । हाल कृष्णथुम्की पुग्ने सडक कालोपत्र गरिएको छ भने यहाँका मठ मन्दिर, गुम्बा र साकेला थान पुनःनिर्माण गरेर चिटिक्क सजाइएका छन् ।
“सडक स्तरोन्नति भएसँगै सिटी रिक्सा, टेम्पोलगायत साना सार्वजनिक सवारीसाधन आवतजावत गर्न सहज भएको छ”, क्षेत्रीले भन्नुभयो, “कृष्णथुम्की पौराणिक महत्त्वको धार्मिक स्थल हो, पूर्वाधारको विकासले यसको पर्यटकीय आकर्षण झन बढाएको छ ।” छुट्टी मनाउन आउने हरेक तीन चार वटा बस भाडामा लिएर कृष्णथुम्कीको अवलोकन गर्न आन्तरिक पर्यटक आउने गरेका अध्यक्ष क्षेत्रीले बताउनुभयो । कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा रु ३० लाख ३९ हजार १८० लगानी गरेर मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको उहाँको भनाइ छ । मन्दिर र गुम्बाको मर्मतसम्भारमा सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१र८२ मा रु २८ लाख पाँच हजार १९७ सहयोग गरेको थियो भने विकास समितिले आन्तरिक स्रोतबाट रु दुई लाख ३४ हजार ६२६ जुटाएको थियो ।
डाँडाको शिखरमा रहेको मूल मन्दिर पुग्नका लागि पक्की सिँढीसहित रेलिङ निर्माण गरिएको छ । गुम्बा, साकेला र राधाकृष्णको मन्दिरलाई रङरोगन गरिएको थियो । मुख्य आकर्षणका रुपमा रहेको मन्दिरमा पित्तलको छानो लगाइएको छ भने साकेला र गुम्बाको प्राङ्गण सिमेन्टले ढलान गरिएको छ । कृष्णथुम्कीबाट चार किलोटिरको दूरीमा ४९ वटा जलधारा प्रवाहित हुने ‘नागदेवी तथा हिले सिमसार’ नामक अर्को पर्यटकीयस्थल पनि छ । त्यसैगरी ‘मिनी माउन्टेन र वृन्दावन’ नामक पर्यटकीयस्थल नजिकै छ । यहाँका सबै पर्यटकीयस्थलमा आउनेहरू कृष्णथुम्की पुग्न बिर्सँदैनन् ।(रासस)