
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आज परीक्षण गरी पर्सिदेखि लागु हुनेजानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ ।
अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो । यो विधि हटेसँगै अब अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरू गणना हुनेछ ।
२ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।
साथै यसअघि भारित औसत गणनाका क्रममा त्रुटि समेत पाइएको थियो । नेप्सेको प्रविधि अटोमेटेड र स्तरीय नभएकाले अहिले भारित औसत गणना विधि हटाउनुपर्ने माग ब्रोकरले पनि गर्दै आएका थिए ।