
सुनाखरी न्युज/ काठमाडौं।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता कायम गर्न आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय झन्डोत्तोलन गर्दै उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभयो ।संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ प्रदेश सरकार मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको भावनाअनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विभिन्न अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको योगदानको कदर गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले गत भदौ २३ र २४ मा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर गरेको प्रदर्शनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउने युवाहरूप्रति पनि हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखलगायतकोे उपस्थिति रहेको थियो ।
रासस