
सुनाखरी न्युज/ काठमाडौं।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालबालिका निरन्तर सङ्कटमा फसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
युनिसेफका अनुसार, शिक्षा, स्वास्थ्य सेवा, सफा खानेपानी र बाल संरक्षणजस्ता आधारभूत सेवाहरू अब उनीहरूका लागि जीवनरक्षक बनेका छन् । विगतका दशकदेखि द्वन्द्व, गरिबी र सामाजिक प्रतिबन्धहरूले बालबालिकाको अधिकार र भविष्यमा गम्भीर असर पारेको बताइएको छ । अफगान बालबालिकाहरू अहिले पनि भोक, रोग र असुरक्षाको चपेटामा परिरहेका छन् । यस्तो अवस्थामा जापानको सहयोगले केही आवश्यक सेवा पु¥याउन मद्दत पुगेको युनिसेफले जनाएको छ ।
यसैबीच, पाकिस्तानबाट हालै जबरजस्ती फर्काइएका अफगान शरणार्थीहरूले पनि गम्भीर कठिनाइ भोगिरहेका छन् । उनीहरू खाद्यान्न, आवास र आधारभूत राहतको अभावमा रहेका छन् । “हामीलाई बस्नका लागि जमिन चाहिएको छ, बच्चाहरू भोकै छन् । जाडो आउँदैछ, हामीलाई सहयोग आवश्यक छ,” एक शरणार्थी बिबी शम्सले भन्नुभयो । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोग (यूएनएचसीआर) का अनुसार, सेप्टेम्बरको पहिलो सातामा मात्रै करिब एक लाख अफगान नागरिक पाकिस्तानबाट देशनिकाला भएका छन् । युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको भविष्य जोगाउन तत्काल कदम चाल्न आह्वान गरेको छ ।
रासस/एएनआई