२०८२ चैत्र २ , सोमवार

आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

Screenshot 2025-09-09 155626

सुनाखरी न्युज/ काठमाडौं ।

सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गर्नुभएको छ ।

कर्मचारी तन्त्रका प्रमुख र चार वटै सुरक्षा निकायका प्रमुखले आज संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गर्नुभएको हो ।उहाँहरुले वर्तमान विषम परिस्थितिमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल गर्नुभएको छ ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त रुपमा उक्त अपिल गर्नुभएको हो ।

सोमबारदेखि काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उहाँहरुले त्यसबाट ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।  रासस