
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्लामा लगाइएको धानमा ब्लाष्ट (मरुवा)रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले कार्यालयमा दैनिक २५ देखि ३० जना विभिन्न रोगको समस्या लिएर आउने गरेका छन् । त्यसमध्ये ५० प्रतिशत बढी मरुवा रोगको समस्या लिएर आउने गरेका छन् । जिल्लाका सातै पालिकामा यो रोगको समस्या देखिएको छ । कार्यालयका सूचना अधिकारी विन्दु पौडेलका अनुसार रोगी बीउ, संक्रमित पानी, परालका ठुटा तथा झारपातबाट यो रोग सर्दछ । धानको नर्सरीको ब्याड्बाट यो रोग देखिन्छ । ओसिलो, न्यानो भएमा यो रोगको सङ्क्रमण बढी हुन्छ । उहाँले भन्नुभयो, “पातमा शीतका थोपा रहिरहने र नाइट्रोजन मलको बढी प्रयोग भएको खण्डमा यो रोगले महामारी लिने गर्दछ ।”
यो रोग लाग्दा पातको दुवै छेउतिर चुच्चिएका अण्डाकार थोप्ला देखिने, थोप्ला खैरो रङ्गको हुने, थोप्लाको बीचमा सेतो विन्दु हुने, बाला मुन्तिरको डाँठमा खैरो रङ्ग भएको दाग पनि देखिने पौडेलले जानकारी दिनुभयो । यस रोगको व्ययवस्थापनका लागि रोग अवरोधक जात जस्तै खुमलटार, राधाचार, सावित्री, चन्दननाथ १ र २ लगाउने, ब्याडमा बीउ राख्नुभन्दा पहिले कारवेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउको दरले उपचार गर्ने, मलखादको उचित व्यवस्थापन गर्ने, ग्रसित भएको रोगबाट अर्को खेतमा पानी जान नदिने जस्ता कार्य गर्न उहाँको सुझाव छ । जिल्लामा अहिले २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । धानमा यो रोगबाहेक अन्य विभिन्न रोगको समेत समस्या देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पतेरो, गभारो लगायतको रोग देखिएको उहाँले बताउनुभयो ।
रासस