
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली राजदूतावास, अबुधाबी र नेपाली समाज, युएई लगायत अन्य संघसंस्थाहरुको सहयोगमा यही ०६ सेप्टेम्बर २०२५ का दिन अबुधाबीबाट करिब २०० कि.मी. को दूरीमा रहेको Al-Ain शहरमा राहदानी, श्रम वैधानिकिकरण, कन्सुलर तथा श्रमिक सचेतना घुम्ति शिविर कार्यक्रम सञ्चालन गरियो। उक्त घुम्ति शिविरमा राहदानी नवीकरण, श्रम वैधानिकिकरण, कन्सुलर तथा कानूनी परामर्श लगायतका सेवा लिन आउनु भएका नेपालीहरुको उलेख्यरुपमा उपस्थिति रहेको थियो। त्यसैगरी नेपाल सरकारले हालका दिनमा श्रम-सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयहरू – सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतवास, युएईबाट नै पुनः श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था सम्बन्धी जानकारी एवम् वित्तीय साक्षरता लगायतका विविध विषयमा जानकारी प्रदान गरिएको थियो।
साथै, युएईमा रहदा बस्दा पालना गर्नु पर्ने नियम, कानून तथा अपनाउनु पर्ने सावधानीका विषयमा पनि जानकारी गराइएको थियो। राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैं क्रियाशील र कटिबद्ध रहेको छ। राहदानीको म्याद समाप्त भैसकेका, भिषाको म्याद समाप्त भैसकेका र राहदानी हराई समस्यामा परेका, श्रम वैधानिकिकरण गर्न आवश्यक भएका व्यक्तिहरुका लागि राजदूतावासले प्राथमिकताका साथ सेवा उपलब्ध गराउने गरेको व्यहोरा समेत जानकारी गराईन्छ। भविष्यमा आयोजना गरिने यस किसिमका कार्यक्रमहरूमा समेत युएईमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता तथा सहयोग रहने अपेक्षा गरिएको छ।