
सुनखरी न्युज/ काठमाडौं ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रूससँगको सम्भावित युद्धविरामपछि युक्रेनलाई समर्थन गर्ने उद्देश्यले २६ देशहरूको गठबन्धन घोषणा गर्दै प्रस्तावित सुरक्षा प्रणालीमा भाग लिने वाचा गर्नुभएको छ । सहभागी राष्ट्रहरूले स्थलगत, समुद्र, तथा आकाश लगायतका युक्रेनी क्षेत्र भित्र सेना तैनाथ गरेर सुरक्षा योगदान दिनसक्ने उहाँले बताउनुभएको छ । युक्रेनी समर्थनको गठबन्धन बैठकपछि बोल्दै म्याक्रोँले गठबन्धनको उदेश्य बलपूर्वक रूससँग युद्धमा संलग्न हुनु नभई युक्रेनलाई सुरक्षा सुनिश्चितता प्रदान गर्नु भएको बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भिडियोमार्फत् भएको कुराकानीपछि म्याक्रोँले वासिङ्टनले यस पहललाई समर्थन गरेको र आगामी दिनमा अमेरिकी संलग्नताको विवरण स्पष्ट हुने पुष्टि गर्नुभएको छ । फ्रान्सेली राष्ट्रपतिले युक्रेनले कुनै पनि शान्ति वार्ताको क्रममा आफ्नो सेनाको आकार वा क्षमतामा कुनै असहजता सामना गर्नु नपर्ने सुरक्षा सनिश्चितता रहेको बताउनुभएको छ । यदि मस्कोले शान्ति प्रक्रियामा संलग्न हुन अस्वीकार ग¥यो भने युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकासँगको समन्वयमा रूसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने तयारी गरिरहेको पनि उहाँले पुष्टि गर्नुभएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने राष्ट्रपति ट्रम्पले केही इयू देशहरूले अझै रूसी तेल खरिद जारी राखेकोमा निराशा व्यक्त गर्नुभएको छ ।
रासस/क्यूएनए