
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रियसभाका सांसद पदम परियारले बैतडी जिल्लामा भएको घटनाबारे संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकको आकस्मिक समयमा दलीय आधारमा बोल्दै नेपाली कांगे्रेसका सांसद परियारले घटना भएको लामो समयसम्म पनि प्रहरी प्रशासनले दरखास्त नलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बैतडीको डिलासैनी गाउँपालिका–३ का १४ वर्षीय किरण कोलीको गत साउन १७ गते करेन्ट लागेर मृत्यु भयो, त्यसपछि कोलीकी आमा राजमतीले जिल्ला प्रहरी कार्यालय बैतडीमा घटनाबारे जाहेरी दरखास्त दिने कोसिस गर्नुभयो, तर जाहेरी दरखास्त लिन मानेनन, जाहेरी दरखास्त दर्ता गर्नुपर्छ ।” सांसद परियारले स्थानीय बासिन्दा र राजनीतिक दलका नेताकार्यताले पीडित परिवारलाई प्रलोभनमा पार्ने, फकाउने र धम्क्याउनेसम्मको काम गरिएकामा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त घटनामा स्थानीय प्रहरी प्रशासनले सहयोग गनुपर्ने उहाँको माग छ ।
रासस