
सुनाखरी नयुज/ पोखरा ।
गण्डकी प्रदेश सरकारले थप ३ सयभन्दा धेरै कर्मचारीको दरबन्दी कटौती गरेको छ । यसअघि १ सय ८५ जना कर्मचारीको दरबन्दी खारेज गरेको सरकारले थप ३ सय जना कर्मचारीको दरबन्दी कटौती गरेको हो ।
साउन २६ गते बसेको गण्डकीको मन्त्रिपरिषद बैठकले ७ निर्देशनालय, २ केन्द्र र ३४ कार्यालय मर्ज गर्ने निर्णय गरेको थियो ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण पारित गरेको छ । नयाँ ओएनएमअनुसार थप ३ सय ४ जना कर्मचारीको दरबन्दी कटौती भएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुष्टि गरे ।
‘साउन २६ बसेको बैठकले विभिन्न संरचनासँगै १ सय ८५ दरबन्दी कटौती गरिएको थियो, आइतबार मन्त्रिपरिषदले नयाँ ओएनएम पारित गरेको छ । जसअनुसार ३ सयभन्दा धेरैको दरबन्दी कटौती हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो निर्णयले प्रदेशलाई चुस्त बनाउँछ भने कुनै पनि स्थायी कर्मचारीको जागिर, वृति विकासमा यसले असर गर्दैन ।’