
सुनाखरी न्युज/ काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयले १८औँ पुस्तकालय दिवसका अवसरमा काठमाडौं महानगरपालिका–१४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका–७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।
तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस मनाउन थालिएको हो ।
पुस्तकालय दिवसको यस वर्षको नारा ‘हाम्रो पुस्तकालय , हाम्रो भविष्य’ तय गरिएको छ । दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यो वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्दैछ ।
यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गरिँदै छ ।