
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ ।
दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी दिए ।
उपनिर्वाचनका लागि ९ जना आकांक्षी छन् । आकांक्षीहरुमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गर्ने रास्वपाले जनाएको छ ।
सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् । सम्भावित उम्मेदवारको रुपमा सुलभ खरेलको नाम बढी चर्चामा छ ।