
सुनाखरी न्युज/ काठमाडौं ।
थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ । फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउनुहुनेछ । अदालतले उहाँविरुद्धको मुद्दाको सुनुवाइमा सहमति जनाएपछि जुलाई १ मा उहाँलाई निलम्बन गरिएको थियो र उपप्रधानमन्त्री फुमथम वेचाचाईले जिम्मेवारी सम्हाल्नुभएको थियो । पेटोङटार्नले जुन १५ मा हुन सेनसँग गरेको फोन कलको उद्देश्य दुई मुलुकबीचको सिमानामा प्रतिस्पर्धी दावीलाई लिएर तनाव कम गर्नु थियो, तर उक्त फोन कलले राष्ट्रिय सुरक्षामा असावधानी देखाएको र थाई सेनाका जनरललाई बदनाम गरेको आरोप लगाइएको थियो ।सन् २०२३ मा कम्बोडियाका प्रधानमन्त्री पदमा रहेका आफ्ना छोरा हुन मानेटले पदभार ग्रहण नगरेसम्म हुन सेनले ३८ वर्ष शासन गर्नुभएको थियो ।
मे महिनामा विवादित सीमा क्षेत्रमा भएको छोटो हिंसात्मक घटनामा कम्बोडियाका एक सैनिकको मृत्यु भएपछि यो फोन कल भएको थियो । जुन महिनाको अन्त्यमा दुई मुलुक पाँच दिनको लडाइँमा संलग्न हुँदा दर्जनौँ मानिस मारिए भने दुई लाख ६० हजारभन्दा बढी विस्थापित भए ।अदालतको फैसलाले पेटोङटार्नको नेतृत्वमा रहेको सत्तारूढ फेउ थाई गठबन्धनलाई अस्थिर अवस्थामा पुर्याएको छ । फोन कल विवादपछि फेउ थाईको ठूलो साझेदार भुमजाइथाई पार्टी गठबन्धनबाट बाहिरियो, जसले प्रतिनिधि सभामा थोरै बहुमत मात्र सुनिश्चित गर्यो । यो कदम पेटोङटार्नका पिता, पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका राजनीतिक संयन्त्रलाई पनि झट्का हो । थाक्सिनलाई सन् २००६ मा सैनिक कूद्वारा सत्ताबाट हटाइएको थियो, तर उहाँ थाई राजनीतिमा लोकप्रियतावादी नीतिहरू र दूरसञ्चारमा कमाएको विशाल भाग्यको माध्यमबाट प्रभावशाली बन्नुभएको छ ।
रासस/एपी