२०८२ फाल्गुन २६ , मंगलबार

रुसी आक्रमणबाट किएभस्थित इयू नियोगको कार्यालयमा क्षति

2024-01-02T082552Z_1718923416_RC2J95A04VUA_RTRMADP_3_UKRAINE-CRISIS-ATTACK-KYIV-1704185332

सुनाखरी न्युज/ काठमाडौं ।

युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले किएभमा रुसले गरेको घातक आक्रमणबाट आफू ’भयभीत’ भएको बताउनुभएको छ । युरोपेली परिषद्का अध्यक्ष कोस्टाले एक्समा लेख्नुभएको छ, “यो समय हामी युक्रेनी पीडित र इयू प्रतिनिधिमण्डलका कर्मचारीहरूको सहयोगका लागि तयार छौँ ।” उहाँले भन्नुभयो, “इयू डराउने छैन । रुसको आक्रामकताले युक्रेन र त्यहाँका जनताको पक्षमा उभिने हाम्रो सङ्कल्पलाई बलियो बनाएको छ ।” कोस्टाले एउटा कार्यालयको भित्री भागको तस्वीर पोस्ट गर्नुभएको छ यसमा झ्यालहरू फुटेका छन्, छत आंशिक रूपमा तल झुन्डिएको छ र आक्रमणका कारण खसेका भवन र झ्यालका भाग भुइँमा छरिएका छन्।”

युक्रेनका लागि इयूका राजदूत क्याटरिना माथेरनोभाले विस्फोटको झट्काले नियोगको भवनमा गम्भीर क्षति पुगेको बताउनुभएको छ । इयूका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इयूका कुनै पनि कर्मचारीलाई चोट पटक नलागेको बताएका छन् । युक्रेनी अधिकारीहरुले रातभर भएको बमबारीमा एक बालकसहित १० जनाको मृत्यु भएको बताएका छन् । इयूका उच्च कूटनीतिज्ञ काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विश्वले शान्तिको बाटो खोजिरहेको बेला रुसले क्षेप्यास्त्रप्रहार गरेको छ ।” “किएभमा रातिको समयमा भएको आक्रमणले रूसले शान्ति प्रयासलाई नबढाउने र खिल्ली उडाउने सुनियोजित निर्णय गरेको देखाउँछ,” उहाँले भन्नुभयो ।

रासस/एएफपी