२०८३ श्रावण १० , आइतवार

‘सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने’

kulman

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा आयोजित कार्यक्रममा पूर्व कार्यकारी निर्देशक घिसिङले सबै समस्या नेतृत्व तहसँग जोडिने भएकाले देशको समग्र विकासका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने जिकिर गर्नुभयो । “सही व्यक्ति सही ठाउँमा भए सबै कुरा सही नै हुन्छ । नेपालमा यस्तो नहुँदा समस्या देखिएको हो”, उहाँले भन्नुभयो, “नेपालमा केही भएको छैन भन्ने होइन, परिवर्तन भएको छ । सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा परिवर्तन भएको छ ।”

राम्रो गरौँ भनेर आएकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिनुभयो । रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसलाई रोक्न गम्भीर हुनुपर्ने बताउनुभयो । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो टेवा पु¥याएको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीकोे देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । गैर आवासीय नेपालीको नागरिकताको समस्या सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिनुभयो ।कार्यक्रममा महासङ्घका अध्यक्ष चोपकुमार रानामगर, महासङ्घका सल्लाहकार सोमफुरी शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासङ्घका वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जनलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा घिसिङलाई नागरिक अभिनन्दन गरिएको थियो ।
रासस