
सुनाखरी न्युज / काठमाडौं ।
पछिल्लो चौबीस घन्टामा देशका अधिकांश भूभागहरुका वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरणले कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका भूभागहरुका हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा भएको देखाउँछ। चौबीस घन्टाको तथ्यांक हेर्दा देशभरिका १७ ठाउँमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको छ। कास्कीको रिवनमा सबैभन्दा बढी पानी परेको छ। त्यहाँ चौबीस घन्टामा १४८.८ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै रूकुम पूर्वको बाफीकोटमा १४६.८ मिलमिटर, रूपन्देहीको लुम्बिनीमा १४१.८ मिलिमिटर, कास्कीको यमजाकोटमा १३१.१ मिलिमिटर, घलेखर्कमा १२९ मिलिमिटर, लुम्लेमा १०२.८ मिलिमिटर, पोखरामा १०५.२ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै लमजुङको भूजुङमा ११०.८ मिलिमिटर, गोरखाको बारपाकमा १०३.४ मिलिमिटर, सिन्धुपाल्चोकको बोल्डेमा १०५.२ मिलिमिटर, पाल्पाको जाल्पामा ११५।६ मिलिमिटर, हात्तीलुङमा ११६.६ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ११२.४ मिलिमिटर, नवलपरासी पश्चिमको देउराली नवलमा १०२ मिलिमिटर, नवलपरासीको परासीमा १००.२ मिलिमिटर, भैरहवामा १०३. २ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै धेरै ठाउँहरूमा ५० मिलिमिटरभन्दा बढी एक सय मिलिमिटरभन्दा कम वर्षा मापन भएको छ। कोशीका एकरदुई स्थान, बागमतीका केही ठाउँ तथा गण्डकी र लुम्बिनीका अधिकांश ठाउँहरुमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ। यसअघि सुख्खाग्रस्त घोषणा भएको मधेसमा भने हल्का वर्षा मात्रै भएको तथ्यांकले देखाउँछ।