२०८२ फाल्गुन २४ , आइतवार

सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा दुई सय ५२ जना लाभान्वित

jilla-hospital-baitadi-768×354

सुनाखरी न्युज / काठमाडौं ।

जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी बन्दै गएको छ । हिंसा प्रभावितलाई लक्षित गर्दै स्थापना भएको केन्द्रमार्फत एक वर्षको अवधिमा २५२ जना लाभान्वित भएका केन्द्रका संयोजक डा सिजन खड्काले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको आर्थिक सहयोगमा सञ्चालित ओसिएमसीमार्फत विभिन्न प्रकारका सेवा प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो । जिल्लाका १० वटै पालिकाका २४४ र जिल्लाबाहिरका आठ जनाले केन्द्रबाट सेवा लिएका हुन् । लैङ्गिक हिंसा प्रभावितलाई ओसिएमसीबाट कानुनी, उपचारात्मक तथा परामर्श सेवा दिने गरिन्छ ।ओसिएमसीमा आउनेमध्ये शारीरिक हिंसामा परेका ५३, मानसिक हिंसा प्रभावित ९७, स्रोतसाधनबाट वञ्चित ६५, बलात्कारका घटनाबाट पीडित १३, बलात्कार प्रयास घटनाबाट प्रभावित चार, बहुविवाहबाट पीडित चार, बालविवाहबाट पीडित चार र यौन दुव्र्यवहारका घटनाबाट पीडित दुई जना रहेका जनाइएको छ ।

हिंसापीडितको गोपनीयता कायम राख्दै प्रत्येक घटनामा प्रहरीले जिम्मेवार भएर ओसिएमसीलाई सहयोग गरिरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गुनासो सुन्ने सुविधा र सेवामा सहज पहुँच भएकाले नगरक्षेत्रका पीडितको सङ्ख्या बढी देखिएको बताउनुभयो । दशरथचन्द नगरपालिकामा रहेको सेफ हाउस सञ्चालनमा ल्याई यस्ता सेवालाई प्रभावकारी बनाउनुपर्ने भन्दै उहाँले त्यसमा पालिकाले पनि सहजीकरण गर्ने बताउनुभयो । दशरथचन्द नगरपालिकामा विगत १२ वर्षअघि बनेको सेफ हाउस हालसम्म सञ्चालनमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल ओसिएमसीले हिंसापीडितलाई पुनस्र्थापनामा महत्त्वपूर्ण सहयोग गरेको बताउनुहुन्छ ।
रासस