
सुनाखरी न्युज/ काठमाडौं ।
सङ्घीय संसदअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवी थापाले जलवायु परिवर्तनका असरसँग जुध्न साझा प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । हिन्दुकुश–हिमालय क्षेत्रका मुलुकका सांसदहरुको आजदेखि सुरु भएको बैठकको उद्घाटनमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असरले मानव सभ्यता र पृथ्वीका प्राकृतिक स्रोतलाई नै खतरामा पारेको बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका कारण जैविक विविधताको ह्रास, वायु प्रदूषण र प्राकृतिक विपदाको तीव्रता बढ्दै गएका छन्, जसले अर्थतन्त्रदेखि स्वास्थ्य, कृषि, पर्यटन र ऊर्जा क्षेत्रसम्म प्रत्यक्ष असर पु¥याइरहेका छन् । सभापति थापाले भन्नुभयो, “जलवायु संकटविरुद्धको लडाइँ विज्ञान र प्रविधिमा मात्र सीमित नभई राष्ट्रिय राजनीति, अर्थतन्त्र र क्षेत्रीय सहकार्यसँग पनि प्रत्यक्ष जोडिएको छ ।
यसलाई सामना गर्न कार्यकारी, विधायिका र न्यायपालिका तथा राजनीतिक–प्रशासनिक तहबीच घनिष्ठ सहकार्य आवश्यक छ ।” उहाँले यस सहकार्यलाई गैरसरकारी संस्था, सञ्चारकर्मी र जलवायु क्षेत्रमा संलग्न विज्ञसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सांसदहरू नीतिनिर्माता र निर्णयकर्ताको हैसियतले जलवायु विज्ञान र जलवायु कूटनीतिसम्बन्धी ज्ञान तथा सीपलाई अझ विस्तार र परिष्कृत गर्नुपर्नेमा जोड दिनुभयो । यस क्षेत्रका सांसदबीच क्षेत्रीय जलवायु संसद् स्थापना गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । सभापति थापाले यस सम्मेलनले सांसदहरूको क्षमता अभिवृद्धि, जलवायु कूटनीति प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वायु प्रदूषण नियन्त्रणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै, यसले सहभागी मुलुकबीच भ्रातृत्व र सहकार्यको भावना सुदृढ गर्ने उहाँको अपेक्षा थियो ।
।
रासस