२०८२ फाल्गुन २४ , आइतवार

पच्चीस वर्षपछि क्यान्सर अस्पतालका भवनको नक्सापास

BP-Koirala-Memorial-Cancer-Hospital-Bharatpur

सुनाखरी न्युज/ काठमाडौं ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो । विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको थियो । हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो ।अस्पतलका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार भवन निर्माणको क्रममा कुनै पनि भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो ।

नक्सा बनाउन रु २२ लाख हाराहारी खर्च भएको छ । अभिलेखीकरणका लागि महानगरपालिकामा रु एक करोड ७८ लाख राजस्व बुझाएको उहाँले बताउनुभयो । यी अस्पताल भवन चीन सरकारले निर्माण गरिदिएको हो । पछिल्लो समय केही भवन भने नेपाल सरकारले निर्माण गरेको थियो । बोनम्यारो प्रत्यारोपणका लागिसमेत चीन सरकारले भवन, उपकरण र जनशक्ति व्यवस्थापन सहयोग गर्दैछ । दीर्घकालिन प्रभावका महत्वपूर्ण काम भइरहेको उहाँले बताउनुभयो । भवनहरूको अभिलेखीकरण भएसँगै अन्य महत्वपूर्ण कामअघि बढेको उहाँको भनाइ छ । जिल्लामा सरकारीस्तरमा जिल्ला प्रशासन कार्यालय र क्यान्सर अस्पतालका भवन मात्रै महानगरमा अभिलेखीकरण भएका छन् । धेरैजसो सरकारी कार्यालय भवन अभिलेखीकरण भएका छैनन् ।
रासस