
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल दलित सङ्घका पूर्वअध्यक्ष तथा पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस सुर्खेतका पूर्वउपसभापति एवम् संविधानसभा सदस्यसमेत रहनुभएका बस्यालको निधनमा दुःख व्यक्त गर्नुभएको हो । क्यान्सर रोगबाट पीडित उहाँको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित निवासमा आज बिहान निधन भएको हो । विसं २००८ माघ १५ गते जन्मनुभएका स्व बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको जनाइएको छ ।
बस्यालको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको शोक विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले बस्यालको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको बताउनुभयो । स्व बस्यालले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने सभापति देउवाले बताउनुभयो । सभापति देउवाले स्व बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
रासस