२०८२ फाल्गुन २६ , मंगलबार

अमेरिकाले लगायो भारतीय उत्पादनमा ५० प्रतिशत भन्सार

usa-india

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने भारतीय वस्तुहरूमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन् ।

 

भारतले रुसबाट पेट्रोलियम पदार्थ आयात गरेर रुस–युक्रेन युद्धलाई सघाइरहेको अमेरिकाको आरोप छ । आफूहरूले स्पष्ट आपत्ति जनाउँदासमेत भारतले तेल खरिदलाई निरन्तरता दिएको भन्दै ट्रम्पले बुधबार भारतीय वस्तुहरूको आयातमा भन्सार दर ५० प्रतिशतसम्म पुर्‍याएका हुन् । यस घोषणाले भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशतले संकुचन आउन सक्ने भारतीय अर्थविद्हरूको विश्लेषण रहेको ‘द इकोनमिक टाइम्स’ ले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा जान लाग्दा भारतका लागि विश्व राजनीतिक परिदृश्य सामान्य अवस्थामा छैन । अमेरिकासँग भारतको सम्बन्ध तनावपूर्ण स्थितिमा पुगेका बेला मोदी चीन जान लागेका हुन् । उनी ३१ अगस्टमा हुने सांघाई सहयोग संगठन सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् ।

भारतद्वारा रुसी तेल किन्ने क्रम नरोकिए थप प्रतिबन्ध लगाउने ट्रम्पले अर्को चेतावनी दिइसकेका छन् । उनी भारतप्रति दिन प्रतिदिन आक्रामक बन्दै गएको देखिन्छ । ट्रम्पलाई उद्धृत गर्दै ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘भारतले ठूलो परिमाणमा रुसी तेल किनिरहेको मात्र छैन, त्यस तेलको धेरै हिस्सा खुलेआम बजारमा बेचेर ठूलो नाफा कमाइरहेको छ । त्यसकारण म भारतले अमेरिकातर्फ तिर्ने भन्सार महसुललाई महत्त्वपूर्ण रूपमा बढाउनेछु ।’ अमेरिकामा भारतको २० प्रतिशत वस्तु वा जीडीपीको २ प्रतिशत निर्यात हुने गरेको र अब बहुमूल्य पत्थर, गरगहना, पहिरन, लत्ताकपडा र रसायनसम्बन्धी एकआपसको व्यापारमा उल्लेख्य समस्या आउन सक्ने भारतीय व्यवसायीले सीएनबीसीसँग भनेका छन् ।

ट्रम्पले यसअघि घोषणा गरेको २५ प्रतिशत कर यही बिहीबारदेखि र बुधबार घोषणा गरेको थप २५ प्रतिशत कर २१ दिनपछि लागू हुने ह्वाइट हाउसले जनाएको छ । यसमा सूचना प्रविधि क्षेत्र भने नसमेटिने भएका कारण अमेरिकी बजारमा ९ प्रतिशत प्रत्यक्ष प्रभाव रहेको सेवामा खास असर नपर्ने देखिन्छ । यसले गर्दा सेमिकन्डक्टर र इलेक्ट्रोनिक उत्पादनलाई प्रतिक्रियात्मक भन्सार महसुलले छुँदैन । त्यस्तै, भारतबाट अमेरिका जाने औषधिसम्बन्धी उत्पादनमा पनि भन्सार दर लाग्दैन । भारतले अमेरिकामा स्टिल र आल्मुनियमसमेत निर्यात गर्ने भए पनि यस्ता वस्तुहरूमा छुट्टै कार्यकारी आदेशमार्फत कर निर्धारण गरिएकाले ५० प्रतिशत महसुल तिर्नुपर्ने छैन ।