
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको एक प्रमुख व्यवसायिक समूह गोल्यान ग्रुपले आफ्नो ६५ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ । यस फिल्ममा कम्पनीको यात्रासँगै अगाडि बढेका नेपालीहरूको दैनिक जीवनका कथाहरूलाई उजागर गरिएको छ । #GolyanForGrowth अर्थात् ‘विकासका लागि गोल्यान’ शीर्षक अन्तर्गत बनेको यो फिल्मले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा गोल्यान ग्रुपले गरेको लगानीले कसरी व्यक्ति, समुदाय र राष्ट्रका लागि वास्तविक अवसरहरू सिर्जना गरेको छ भन्ने कुरालाई देखाएको छ । सन् १९६० मा स्थापित गोल्यान ग्रुप नेपालको एक प्रमुख व्यापारिक समूह हो, जसले देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ ।
छ हजारभन्दा बढी कर्मचारी र चार सय मिलियन अमेरिकी डलरभन्दा बढीको वार्षिक आम्दानीका साथ यस समूहको उत्पादन, कृषि, नवीकरणीय ऊर्जा, रियल स्टेट र आतिथ्य सत्कारका क्षेत्रमा बलियो उपस्थिति छ । गोल्यान ग्रुपले आफूहरुको जग नेपालभित्रै मूल्य सिर्जना गर्ने सिद्धान्तमा आधारित छ भन्दै रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने र स्थानीय उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्ने कुरा यसअन्तर्गत पर्ने बताएको छ । यो ब्राण्ड फिल्मले सोही प्रतिबद्धतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको समूहको भनाई छ । ‘कम्पनीको दृष्टिकोणबाट नभई ती मानिसहरूको आँखाबाट जसको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याएको छ’ समूहको भनाई छ, ‘सौर्य ऊर्जाबाट उज्यालो पाएको बच्चादेखि लिएर उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर बनेका कारखानाका मजदुरसम्मको कथालाई यस फिल्मले समेटेको छ ।’