२०८२ फाल्गुन २४ , आइतवार

घाजिरबाट सुरु भयो सुर्मा जात्रा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अपि हिमाल गाउँपालिका–३ घाजिरबाट सुर्माभवानीको (जात्रा) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । प्रत्येक जोर वर्षमा सुर्मा भवानीको जात्रा गर्ने परम्पराअनुसार औपचारिक रूपमा आजदेखि यस वर्षको जात्रा सुरु भएको हो । जातका विशेष आकर्षणका रूपमा रहने ‘बिरे’हरू परिवारबाट छुट्टिएर औँसीबाट बसेका हुन् । ‘बिरे’ भन्नाले सुर्माभवानीको जातका लागि दिनमा एकछाक खाने, मुहानको पानीमा हरेक दिन दुईचोटी नुहाउने, खाली खुट्टा हिँड्ने, रुद्राक्षको माला लगाएर बिहानबेलुका शङ्ख बजाउँदै पूजा आराधना गर्ने व्यक्तिलाई भनिन्छ ।“सुर्मासम्म जाने बिरेहरूलाई दुई भागमा विभाजन गरिएको हुन्छ । पहिलोचोटी सुर्मासरोवरको यात्रामा सहभागी हुने बिरेलाई बालोबिरे भन्ने गरिन्छ । बालोबिरेहरू कडा सामाजिक अनुशासनमा बस्नुुपर्ने हुन्छ । त्यस्तै एकचोेटी पहिले यात्रामा सहभागी भइसकेको व्यक्तिलाई बुढोबिरे भनिन्छ”, अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले भन्नुभयो ।

औँसीदेखि १७ दिनसम्म र रतेडीदेखि सात दिनसम्म प्रत्येक दिन विशेष पूजाआराधान गरी यो जात्रा मनाइने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो जात्रा अपि हिमाल गाउँपालिकाको अन्तिम गाउँ क्षति र घाजिर गाउँमा मनाइन्छ । यो जात्रामा सुर्मा भवानीको विशेष चेलाहरू हुन्छन्, जसलाई ‘बिरे’ भनिन्छ । बिरेको रूपमा सुर्मा सरोवरको यात्रामा बझाङस्थित सुर्मा सरोवर जाने गर्दछन् । उता बझाङ सुर्मा गाउँपालिकाबाट सिकारीको भेषमा सुर्मा सरोवर यात्रामा आउने गर्दछन् । यो जात्रा नेपालकै फरक तथा मौलिक रूपमा लिने गरिएको अध्यक्ष बोहराले बताउनुभयो । उहाँका अनुसार बिरेहरू स्थानीय विशेष पहिरनसहित खाली खुट्टा गाउँपालिकाका विभिन्न गाउँबाट घाजिर र क्षति गाउँ पुग्ने गर्छन् । क्षतिबाट २४ दशमलव पाँच किलोमिटर टाढा बझाङको सिमानामा पर्ने सुर्मासरोवर पुगेर फर्किन्छन् । सुर्मासरोवरमा देवीको आराधना गरी तलाउको माटोलाई प्रसादका रूपमा लिएर फर्कन्छन् । बिरेहरू सुर्मासरोवर जाँदा कापुचुली हिमालको आधार शिविर हुँदै पाँच हजार मिटरको उचाइबाट हिँड्ने गर्छन् । त्यसपछि कालीगाड हुँदै अर्काे पाँच हजार मिटर पार गरेर ओडार बस्नुपर्छ । दोस्रो दिन सरोवर पुगी पुनःबिरे ओडारमा बसी अर्काे दिन क्षति गाउँ फिर्ता हुने चलन रहेको अपिहिमाल गाउँपालिका–४ का स्थानीय कमलसिंह धामीले जानकारी दिनुभयो ।

फर्किंदा उनीहरूले ब्रह्म फूलको माला पहिरनसहित फर्किने गर्छन् । अपि हिमाल–४ खण्डेश्वरीका ज्येष्ठ नागरिक बहादुर ठेकरेका अनुसार करिब ११औँ शताब्दीदेखि सुर्माभवानीको जात निरन्तर रूपमा चल्दै आएको छ । पूजाका लागि उच्च हिमाली क्षेत्रमा कठोर यात्रा गर्दै सुर्मासरोवर पुगेर हरेक जोड वर्ष ठूली जात (जात्रा) मनाउने चलन चल्दै आएको उहाँले बताउनुभयो । यो पूजा धार्मिक रुपमा निकै कष्ठकर छ । सुर्माभवानीले निर्माण गरेको भनिएको सुर्मासरोवर धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । यो समुद्री सतहबाट चार हजार ३०० मिटरको उचाइमा छ । “सुर्मासरोवरसम्मको यात्राका क्रममा खाली खुट्टा हिँड्ने गरिन्छ । कसैकसैले भाङको दोचा लगाएर जाने गर्छन्”, ठेकरेले भन्नुभयो, “स्थानीयहरू प्रायः खाली खुट्टै हिँड्ने गर्छन् भने अन्य जत्तोर (जात्रामा जाने) हरूले दोचा लगाउने अनुमति पाउँछन् । यो जात्रामा टाउकामा टोपी र सउल अनिवार्य मानिन्छ ।” घाजिर पुगेका बिरे र जत्तोर (भक्तजन)ले सुर्मादेवीका विभिन्न फाग, माङ्गलहरू गाउँदै देउडा खेल्दै राम रमिता गरिन्छ । त्यसलाई ‘रतेडी’ भनिन्छ । यो मेला धार्मिक र पर्यटकीय मात्रै नभई सांस्कृतिक हिसाबले पनि जिल्लाकै महत्वपूर्ण मेला हो । जनावरको छालाबाट बनाएका परम्परागत ढाका (एकप्रकारको बाजा) बजाउँदै गरिने दुर्लभ नृत्य, डाँफे नाच, महिलाको समूहले खेल्ने ‘चाहा’ खेललगायतका दुर्लभ दृश्यहरू जात्राको बेला हेर्न पाइन्छ । सुर्मा क्षेत्रको सुन्दरता र धार्मिक सांस्कृतिक हेर्नका लागि विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा मानिस सुर्मा जात्रामा सहभागी हुने गर्छन् ।

यसरी बित्छ जात्राका सात दिन

पहिलो दिन जात्राको विधिवत् सुरुआत औँसीको दशौँ दिनदेखि गरिन्छ । यो दिनलाई ‘रतेडी’ भनिन्छ । उवादेशी यात्रीहरू पहिलो दिन क्षतिमा जम्मा हुन्छन् भने उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा जम्मा हुन्छन् । राति सुर्माभवानीको मण्डपमा जम्मा भएर सबै देवीदेवताको पूजाआजा गरी धामीहरू काप्ने र रङ्गीचङ्गी गर्ने (रमाइलो गर्ने) अथवा देउधमेउलो पूजापाठ गर्ने गरिन्छ । देउधमेउलो सकिएपछि देवी सुर्माभवानीको चैत गाउने चलन छ । त्यसपछि भाडिखेल लगाउने गरिन्छ । बालोवीरे र बूढोवीरे सबैले सुर्मासरोवर जाँदा वीरेलौरो बोक्नुपर्दछ । यो लौरो बूढोबिरे र बालोबिरेको भिन्नभिन्न बनाइएको हुन्छ । उवादेशी तथा उनादेशीले छ फिट लामो निङ्गालाको लौरा बोक्नुपर्छ र बाइदेशीले चार दशमलव पाँच फिटको लौरो बोक्नु पर्दछ । जात्रालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न एक जना मुला अथवा जात्राको मूली नेतृत्व हुन्छ । त्यसको लौरो सात दशमल पाँच फिटको हुन्छ । यो लौरालाई लाकुरी लौरो वा वीरेलौरो भन्ने गरिन्छ ।

“जात्राको दोस्रो दिन घाजिरबाट यात्रु क्षति गाउँ जाने गर्छन् । यो जात्रामा जुत्ता लगाउने, छाता ओढ्न पाइँदैन । भाँगोको दोचा (जुत्ता) बनाएर लगाउने गरिन्छ । यो दिन बिरेहरू तथा यात्रुहरू ढाको (बाजा) बजाएर चाँहै (स्थानीय भाषाको गीत) खेल्दै जाने गर्दछन् । जात्रा सुरु हुँदा क्रमबद्ध सुरुमा निशान (झण्डा) त्यसपछि धामीझाँक्री) ढाके, पुजारी, मुला र बिरेहरू जाने गर्छन् । घाजिरबाट गएका यात्रुलाई स्वागत गर्न क्षतिबाट पनि बाजागाजासहित देउताको नाचगानसहित जयजयकार गर्दै आउने गर्छन् । उनीहरूको क्षतिको काना ढुँ–ढुँ भन्ने ठाउँमा भेट गर्ने परम्परा छ”, ज्येष्ठ नागरिक ठेकरेले भन्नुभयो । जात्राको तेस्रो दिन बिरेहरू सुर्मासरोवरको यात्रामा हिँड्छन् । बिरेहरूलाई भवानीको भक्तको रूपमा स्थानीय भेषमा सिङ्गारपटार गरेर बिदाइ गरिन्छ । बाजागाजासहित सम्पूर्ण यात्रुहरूले तीर्थ जाने बिरेहरूलाई अक्षतापाति चढाएर बिदाइ गर्दछन् । बिरेहरूलाई आधा बाटोसम्म ढाके, धामी तथा बिरेका लागि सहयोगीहरूले आधा बाटोसम्म पु¥याउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

बिरेहरूले विशेष खाजा साकार गेडी बनाएर लिने गर्दछन् । जाँदा बाटोमा सुर्माभवानीको जयजयकार गर्दै उचेडा गाउने गर्छन् । यो यात्रामा मुलाको निर्देशनबमोजिम अगाडि बढ्नु पर्दछ । यात्राको सुरुआत क्षतिबाट हुन्छ र अन्निखाना, धरमघर, लड्डु चढाउन, बिरेफट्टा ठडिउल, दुवै हुँदै बिरे ओडारमा गएर बास बस्छन् । यता बिरेहरूलाई बिदाइ गरेपछि क्षतिमा विभिन्न देवीदेवताको चैत, भाडिखेल, ढुस्को, डेउडा खेल्ने गरिन्छ भने ढाको बजाएर चाँहै खेल्दै रमाइलो गर्दछन् । चौथो दिन सुर्माभवानीको जात्राको यो दिन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । अघिल्लो दिन उच्च हिमाली क्षेत्रमा करिब २० किलोमिटर खाली खुट्टा हिँडेर ओडारमा भोकभोकै बसेका बिरेहरू बिहान स्नान गरेर सुर्मासरोवरका लागि हिँड्छन् । बिरे ओडारबाट केही घण्टाको यात्रा सर्वाधिक कठिन हुन्छ । यसक्रममा चार हजार मिटरको उचाइमा पुगेपछि घुँडा र कुइनोले टेक्दै हिँड्नुपर्छ । यसरी हिँड्दा दायाँबायाँ कतै हेर्न मिल्दैन । बाटोमा आँखा अगाडि देखापर्ने हरेक ढुङ्गामा हरियो झार राख्दै देवीको नाम जप्दै हिँड्नुपर्छ । घुँडा र कुइनो टेकेर हिँड्दा मुखमा हरियो घाँस राख्नुपर्ने नियम छ । सरोवर नजिक पुग्दा करिब ३०० मिटरभन्दा बढी हात र खुट्टाले घिस्रेर हिँड्नुपर्छ । देवीलाई खुसी पार्न र आफूले गरेका गल्ती कमजोरीप्रति माफी माग्दै यसरी हिँड्ने चलन रहेको मुला हरिमल मन्यालले जानकारी दिनुभयो ।

“मुखमा घाँस राखेर माफी याचना गर्ने र अगाडि देखिने ढुङ्गालाई देवताको प्रतीकका रूपमा घाँसले पूजा गर्ने चलन छ । तलाउको किनारमा पुगेपछि बिरेलौरो पानीमा डुबाएर अर्पण गरिन्छ । त्यसपछि देवीलाई चढाउन लगेको चाँदीको सानो काइँयो, सुनको टिलो (टुक्रो), सिक्का तथा अन्य चिनाबाना तलाउमा चढाइन्छ । तलाउको किनारमा श्राद्ध गर्ने, पिण्डदान गर्ने कामसमेत हुन्छ । केही घण्टासम्म चल्ने देवीको पूजापछि तलाउको माटोलाई ‘गङ्गामाटी’का रूपमा थैलीमा भरेर ल्याउने गरिन्छ”, उहाँले भन्नुभयो । दार्चुलातर्फका बिरेहरूले बिदाइ गरेपछि मात्र बझाङतर्फको समूह तलाउमा आएर स्नान गर्न पाउँछन् । बझाङबाट आउने तीर्थालुहरू तालमा भाला हान्दै, होहल्ला गर्दै आउने गर्छन् । सरोवरबाट फर्किएर बिरेहरू त्यो साँझ पुनः ओडारमै बस्छन् । त्यसपछि हरेक बिरेहरूबाट घिउ, तेल, पिठो सङ्कलन गरेर पुरी पकाउँदै रातभरि भोज गरिन्छ ।

तेस्रो दिन दिउँसो मात्र खाना खाएका बिरेहरूले चौथो दिन राति करिब २२ घण्टापछि खान पाउँछन् । पाँचौँ दिन यात्रीहरू बिरेओडारबाट बिहानै हिँड्छन् । फर्किंदा भने जाने बेलाको जस्तो कठोर नियम पालना गर्नुपर्दैन । आआफ्ना समूहमा, आआफ्ना सुविधाअनुसार फर्किन पाउने मन्यालले बताउनुभयो । त्यसपछि सबैजनाले बिरफट्टो भन्ने ठाउँमा आएर जम्मा हुनुपर्छ । साढे चार हजार मिटरको उचाइमा यहाँ बिरेदौडको आयोजना गरिन्छ । उकालोमा करिब २०० मिटरको दौडमा बालाबिरेहरू मात्र सहभागी हुन पाउँछन् । दौड जित्नेले मुलाबाट अबिरको टीका पाउँछन् भने विजेतालाई मुलासँगै हिँड्ने अधिकार प्राप्त हुन्छ । बिरेदौड सम्पन्न भएपछि क्षतितर्फको ओरालोमा बालाबिरेहरूले ब्रह्मकमल फूल टिप्ने गर्छन् । साढे चार हजार मिटरको उचाइमा लटरम्म फुलेको ब्रह्मकमल फूल टिपेर माला साट्न बगरमा फूलहरूको माला गाँस्ने काम हुन्छ । ब्रह्मकमललाई स्थानीयहरू ब्रह्मकोइला पनि भन्ने गर्छन् । शरीरभरि ब्रह्मकमलको फूल लगाएर साँझ पर्नेबेलामा क्षतिगाउँतर्फ अघि बढ्छन् । क्षति गाउँमा बिरेहरूको भव्य स्वागत हुन्छ । सरोवरबाट ल्याएको गङ्गामाटी निधारमा लगाउँदै आफन्तसँग खुसियाली मनाइन्छ ।

त्यो साँझ बिरेहरूलाई घरघरमा लगेर खुवाउने गरिन्छ । यो दिन क्षति गाउँका जुनसुकै घरमा जोसुकै गएर पनि खान र बस्न पाउने छुट हुन्छ । सरोवरबाट आउने बिरेहरूलाई देवीका अवतार मानेर घरघरमा भित्र्याउने चलन रहेको मन्यालले जानकारी दिनुभयो । जात्राको छैठौँ दिन सबै तीर्थयात्रु बिरेहरू र यात्रुहरू घाजिर जाने गर्दछन् । यो दिन जात घाजिरमा पुगाउने गरिन्छ । यो दिन पनि सबै बिरेहरू, धामी, पुजारी, ढाके तथा सबै यात्रुहरू बाजा बजाउँदै नाचगान गर्दै, चाँहै खेल्दै घाजिर पुग्ने गर्दछन् । घाजिरबाट पनि भव्य स्वागत गरिन्छ र सुर्माभवानीको मण्डपमा पूजाआजा गरेर घरघरमा खाना खाएर कोही त्यही बस्दछन् भने क्षतिका बिरेहरू, धामी पुजारी तथा यात्रीहरू त्यसैदिन राति क्षति फर्कन्छन् भने घाजिरमा रातभरी भाडिखेल डेउडा खेल्दै रमाइलो गर्दै बिताउँछन् । सातौँ दिन उवादेशी अथवा क्षति गर्खाका समुदायमा बस्ने बासिन्दाहरूले आफ्नो जेठो छोराको छैठ दिने चलन रहेको जनाउँदै मन्यालले यो दिन आफ्ना इष्टमित्रहरू बोलाएर भोज खुवाउने प्रचलन रहेको उल्लेख गर्नुभयो । त्यसदिन छैठ दिनेले अनिवार्य कालीदेवीको मन्दिरमा बलि दिने चलन छ । किंवदन्तीअनुसार पहिला त्यस मन्दिरमा आफ्नो जेठो छोरा वा छोरीको बलि दिने गरिन्थ्यो तर अहिले त्यसको सट्टा बोकाको बलि दिने चलन रहेको छ । यस दिन छैठका गीतहरू गाउने चलन छ । छैठसँगै हरेक तेस्रो वर्ष लाग्ने सुर्माभवानीको ठूलो जात्रा औपचारिक रूपमा समापन हुन्छ ।

रासस