
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरेका छन्। आफ्नो आधिकारिक विमान एयर फोर्स वानमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले व्यापारलाई हतियारका रूपमा प्रयोग गरेर दुवै देशलाई तुरुन्तै झडप रोक्न बाध्य पारेको दाबी गरे। योसमेत ट्रम्पले यस विषयमा अहिलेसम्म १२ पटक बोलिसकेका छन्।
ट्रम्पले भने मैले त्यस्तो काम गरेँ, जसका बारेमा मानिसहरू धेरै कुरा गर्दैनन् र म पनि धेरै बोल्दिनँ। हामीले भारत र पाकिस्तानबीचको एक प्रमुख सम्भावित आणविक समस्या समाधान गर्यौँ। मैले दुवै देशका नेताहरूसँग कुरा गरेँ। दुवै देश एकअर्कामाथि आक्रमण गर्न तयार थिए र यो आणविक युद्धको लेबलसम्म जान सक्थ्यो।ट्रम्पले सामाजिक सञ्जाल र विभिन्न प्रेस मिटमार्फत यस्तो दाबी गर्दै आएकोमा आजपनि यो दाबी दोहोर्याएका हुन् । ट्रम्पले व्यापारको लाभ हेरेर आफूले यस्तो भूमिका खेलेको दाबी गरे । उनले भने,”यदि म हुन्न थिएँ भने आजपनि मुख्य ६ वटा युद्धहरु भैरहेको हुने थिए । भारत पाकिस्तानसँग लडिरहेको हुने थियो ।”
तर, भारतले ट्रम्पको यो दाबीलाई अस्विकार गरेको छ । आजपनि भारतीय विदेशमन्त्री डा . एश जयशंकरले ट्रम्पको यो दाबीको खारेज गरेका छन् । आजको लोकसभा बैठकमा अपरेशन सिन्दुरबारेको डिबेटमा भाग लिने क्रममा यस्तो बताएका हुन् । भारत र पाकिस्तान युद्धविराममा तेस्रो पक्षको कुनै भूमिका र संलग्नता नरहेको जयशंकरको जिकिर छ । भारतमा भने आज लोकसभामा अपरेशन सन्दूरको बारेमा भनै बहस चलिरहेको छ ।