२०८२ फाल्गुन २९ , शुक्रवार

‘पत्रकारको सुरक्षामा राज्यको भूमिका आवश्यक’

Capture

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य भएको बताउनुभएको छ ।कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार स्वास्थ्य बिमा पोलेसी हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “पत्रकारिता सधैँ सत्य खोज्ने, जनताको आवाज बुलन्द पार्ने पेसा हो । यस्तो संवेदनशील र कठिन जिम्मेवारी निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्यको चासो र संरक्षण अपरिहार्य हुन्छ ।” प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्य र सञ्चारकर्मीबीच पारदर्शीता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । स्वास्थ्य बिमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्व बोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६९३ जना क्रियाशील पत्रकारको स्वास्थ्य बिमा गरेको छ । यो कार्यक्रम नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत निःशुल्क रुपमा सञ्चालन गरिएको हो । स्वास्थ्य बिमा योजनाका लागि मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । बिमा कम्पनीका अनुसार पत्रकारले वर्ष रु ७० हजारसम्मको औषधोपचार सेवा लिन सक्नेछन् । कूल बिमा खर्च करिब रु १४ लाख रहेको मन्त्रालयले जनाएको छ । बिमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष विष्णु शर्माले प्रदेश सरकारले पत्रकार तथा सञ्चारकर्मीको सुरक्षाप्रति देखाएको संवेदनशीलता र सक्रियतालाई ऐतिहासिक कदम भएको बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मन्त्रालयका कर्मचारी, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति, विभिन्न सञ्चार संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
रासस