
सुनाखरी न्युज/ काठमाडौं ।
गर्भधारण गर्नु हरेक महिलाका लागि एक सुखद अनुभव हो । तर विभिन्न कारणले गर्भ खेर जाँदा त्यो खुसी पीडामा बदलिन सक्छ । परोपकार तथा प्रसूति अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीका अनुसार केही सावधानी अपनाउने र सही समयमा परामर्श लिने हो भने अनिच्छित गर्भपतन अर्थात् गर्भ खेर जाने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ । अधिकारीका अनुसार गर्भ रहेको २८ हप्ताभित्र बच्चा खेर जाने अवस्थालाई गर्भपतन भनिन्छ । यो आफैँ प्राकृतिक रूपमा पनि हुन सक्छ । जसलाई ‘स्पोन्टेनियस एबोर्स’ भनिन्छ । निर्देशक डा. अधिकारीका अनुसार सबै प्रकारका गर्भपतनलाई रोक्न नसकिए पनि सही जानकारी पूर्व सावधानी अपनाएर र चिकित्सकसँगको नियमित सम्पर्कले धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ । त्यसैले गर्भधारणको योजना बनाउँदा र गर्भ रहेको थाहा पाउनासाथ विशेषज्ञको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित र उत्तम उपाय हो ।
अनिच्छित गर्भपतन हुनुका कारण
आमाको स्वास्थ्य अवस्थाले पनि अनिच्छित गर्भपतन हुनुमा सहयोग छ । हर्मोनको असन्तुलन भई थाइरोइड जस्ता हर्मोनसम्बन्धी समस्याले गर्भ खेर जाने जोखिम बढाउँछ । गर्भवतीमा दीर्घरोगहरूः मधुमेह, उच्च रक्तचाप, मिर्गौला वा मुटुसम्बन्धी पुराना रोग भएका महिलाले विशेष सावधानी अपनाउनुपर्छ । कुनै रोगका लागि लामो समयदेखि औषधिको सेवन गरिरहेकाले साइड (इफेक्ट)ले पनि गर्भमा असर पार्न सक्छ ।आनुवंशिक (जेनेटिक) कारणः विशेषगरी पहिलो तीन महिनामा खेर जाने गर्भको मुख्य कारण भु्रणमा देखिने क्रोमोजोमल गडबडी हो । शुक्रकीट वा अण्डामा कुनै आनुवंशिक समस्या भएमा शरीरले आफैँ अस्वस्थ भु्रणलाई फाल्न खोज्छ । जीवनशैली र शारीरिक परिश्रमः धूम्रपान र मद्यपान गर्ने बानीले गर्भमा सिधा असर गर्छ । गर्भावस्थामा गरिने अत्यधिक शारीरिक परिश्रम, भारी सामान उठाउने वा कठिन काम गर्दा पनि जोखिम बढ्छ ।
अनिच्छित गर्भपतनको जोखिम कम गर्न के गर्ने ?
अनिच्छित गर्भ खेर जाने जोखिमलाई निम्न उपायहरू अपनाएर कम गर्न सकिने डा. अधिकारी बताउँछन् । गर्भ योजना बनाउनुअघि परामर्श लिनुपर्छ । गर्भको योजना बनाउनुअघि दम्पतीले नै डाक्टरसँग परामर्श लिनु सबैभन्दा उपयुक्त हुन्छ । यसले भविष्यमा हुन सक्ने जोखिम पहिचान गरी समाधान खोज्न सहयोग मिल्छ । स्वास्थ्य समस्याको समयमै उपचार गर्नपर्छ । यदि थाइरोइड, मधुमेह वा अन्य कुनै दीर्घ रोग छ भने गर्भधारण गर्नुअघि नै त्यसलाई नियन्त्रणमा राखिसक्नुपर्छ । औषधि सेवनमा सावधानी अपनाउनुपर्छ । गर्भावस्थामा डाक्टरको सल्लाहविना कुनै पनि औषधि सेवन गर्नु हुँदैन । यदि कुनै औषधि सेवन गरिरहनुपरे त्यसको जानकारी आफूलाई जाँच गर्ने डाक्टरलाई भन्नुपर्छ । गर्भावस्थामा खतराका लक्षणबारे यस्तो देखिएमा सचेत हुनुपर्छ । पेट दुख्ने, रगत देखिने जस्ता कुनै पनि असामान्य लक्षण देखापरे तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।